सुनापती गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान सफलः निरन्तरता दिने गाउँपालिकाको प्रतिबद्धता



स्नेहा सिलवाल
१३ जेठ, रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सुनापती डाँडाबाट प्याराग्लाइडिङकोको परीक्षण उडान सफल भएको छ । परीक्षण उडान सफल भएपछि स्थानीयवासी पर्यटन प्रबद्र्धन हुने भएकाले खुसी भएका छन् ।

पहिलो पटक सुनापती डाँडाबाट भएको उडानमा नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेल र सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चढेका थिए । सुनापती डाँडाबाट उडान भरेको प्याराग्लाइडिङ सिन्धुली जिल्लाको धार्मिक पर्यकीय क्षेत्र कुशेश्वर महादेव मन्दिरमा अवतरण भएको थियो ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले प्याराग्लाइडिङ उडानको रिपोर्ट आएपछि आगामी दिनमा निरन्तरता दिने रामेछाप न्युजलाई बताए । उनले भने,‘गाउँपालिकाले पर्यटन प्रर्बद्धन गर्न लगानी गर्छ, पचास प्रतिशत स्थानीयलाई शेयर दिएर सञ्चालन गछौं ।’

आवश्यक पूर्वाधार सडक, धावनमार्गको व्यवस्थित विकास गरेर व्यावसायिक रूपमा यस स्थानमा प्याराग्लाइडिङ सञ्चालन गरिने योजना अगाडि सारिएको अध्यक्ष लामाले बताए ।
परीक्षण उडानका यात्रु नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेलले प्याराग्लाइडिङलाई निरन्तरता दिनुपर्ने रामेछाप न्युजलाई बताए । उनले निकै स्वर्गीय आनन्द आफूले महशुस गरेको प्रतिक्रिया दिए ।
करिब २२ सय मिटर उचाइबाट ४ सय ५० मिटर तल सिन्धुलीको दुम्जामा अवतरण गरेको स्थानीय तेज तामाङले बताए । प्याराग्लाइडिङका पाइलटद्धय जुद्ध गुरुङ र विनोद खड्काले करिब ४५ मिनेटमा सुनापतीको लहरेमानेबाट दुम्जामा अवतरण गरेका थिए ।

सुनकोसी लहरेमाने सुनापती पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राज मैनालीले उडानअघि धावनमार्ग र अवतरणस्थलका बारेमा सम्भाव्यता अध्ययन गरिएको गरिएको थियो ।
लहरेमानेस्थित घिउखोर आहलबाट उडान भएपछि अब गाउँपालिकाले व्यवसायीक रुपमा उडान गर्ने योजना अगाडि सारेको छ ।

सुनापती डाँडाबाट दोलखाको गौरीशकंर हिमाल, सैलुङ क्षेत्र, ऐतिहासिक सिन्धुलीगढीलगायत देख्न सकिन्छ । पहिलो उडान लहरेमानेबाट सिन्धुलीको दुम्जामा गरेपछि आगामी उडान भने सुनकोसी नदीस्थित लुभु र सिन्दुरेटारमा गरिने गाउँपालिकाका अध्यक्ष लामाले बताए ।


समुन्द्री सतहबाट २३ सय मिटर उचाइमा रहेको सुनापती डाँडा काठमाडौंबाट करिब एक सय २० किलोमिटरको दूरिमा रहेको छ । मैनालीका अनुसार सफल उडान भएकाले आफूहरु उत्साहित भएको बताए । सुनापती गाउँपालिकाको आर्थिक सहयोगमा सुनकोसी लहरेमाने सुनापती पर्यटकीय संरक्षण समितिले प्याराग्लाइडिङ उडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्