मन्थली बजारको सिसी क्यामेरा प्रयोग विहीन
राजन महतारा क्षेत्री
७ असार, रामेछाप । मन्थली बजारमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न २४ सैं घण्टा सिसि क्यामेरा मार्फत निगरानी गर्न जडान भएको सिसी क्यामेरा प्रयोग विहीन भएको छ । बजारलाई सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिको योजना र उद्योग वाणिज्य संघ रामेछापको नेतृत्वमा मन्थलीको भैसेश्वरदेखि बसपार्कसम्म १६ वटा क्यामेरा जडान गरिएको थियो । तर सञ्चालनमा आएको एक बर्षमै सिसी क्यामेरा प्रयोग विहीन बन्न पुगेको हो ।
भैसेश्वरदेखि विनिता चोक, तामाकोसी अस्पताल, देवकोटा चोक, सिडियो कार्यालय जाने चोक, जिल्ला समन्वय कार्यालय, नयाँ बसपार्कदेखि ट्राफिक चोकसम्म पाँच वटा पिटिजे (चारैतिर खिच्ने मिल्ने) सहित १६ वटा क्यामेरा जडान गरेर उद्योग वाणिज्य संघ रामेछापले जिल्ला प्रहरी कार्यालय रामेछापलाई हस्तान्तरण गरेको थियो । बजार क्षेत्रमा जडान भएको सिसी क्यामेरा जिल्ला प्रहरी कार्यालयले निगरानी गर्दै आएको थियो ।
तर एक सातादेखि बजार क्षेत्रमा सञ्चालनमा आएका क्यामेरा सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई बताए । उनल अनुसार बजार क्षेत्रमा सडक विस्तार गर्ने क्रममा पोल पनि सार्नु पर्ने भएकाले सिसी क्यामेरा निगरानी प्रभावित भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘प्रहरीसँग सिसी क्यामेरा मर्मत गर्ने प्राविधिक नहुँदा समस्या छ, केन्द्रमा तालिम गराउन पठाउने तयारीमा छौं ।’
उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापाले बन्द रहेको सिसी क्यामेरा सञ्चालन गर्न आफूहरुले पहल गर्ने बताए । सबै सिसि क्यामेराको मनिटरिङ गर्न जिल्ला प्रहरी कार्यालयमा ४० इन्चको स्क्रिन राखिएको छ । प्रहरीले सिसि क्यारामेरा मार्फत मन्थली बजारको सबै गतिविधि निगरानी गर्न २ जना प्रहरीलाई खटाएको छ । सिसि क्यामेरा जडान भएपछि बजारको सुरक्षा गर्न धेरै सहज भएको प्रहरीले बताएको छ । थापाका अनुसार करिब १६ लाख लगानीमा सिसी क्यामेरा जडान गरेर प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
थप सिसी क्यामेरा जडान गछौंः नगर प्रमुख वस्नेत
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार वस्नेतले सडक विस्तारको क्रममा पोल विस्तारसँगै अवरुद्ध सिसी क्यामेरा छिट्टै जडान गरेर सञ्चालनमा ल्याउने बताए । उनका अनुसार बजारलाई थप सुरक्षित बनाउनको लागि दस वटा सिसी क्यामेरो थप्न लागेको रामेछाप न्युजलाई बताए । नगर प्रमुख वस्नेताले आगामी दिनमा आवश्यकताको आधारमा सिसी क्यामेरा थप्दै जाने बताए ।