दस करोड लगानीमा यसरी निर्माण हुँदैछ खाँडादेवी मन्दिर (भिडियोसहित)



१९ साउन, रामेछाप ।
रामेछाप जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित खाँडादेवी मन्दिरको पुर्नसंरचना हुने भएको छ । खाँडादेवी गाउँपालिकाले मन्दिरलाई पुरानै संरचनामा निर्माण गर्ने पार्क सहितको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरेको हो ।

सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबलकार निर्माणको काम अगाडि बढने भएपछि गाउँपालिकाले खाँडादेवी मन्दिर आसपासको क्षेत्रलाई समावेश गरेर १० करोड लागतमा निर्माण हुने गरी डिपिआर तयार तयार गरेको हो । तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा सित्खादेखि खाँडादेवी मन्दिरसम्म करिब पाँच किलोमिटर दुरीमा केबलकार निर्माण गर्नको लागि डिपिआर गर्ने काम सम्पन्न भएको छ ।

खाँडादेवी गाउँपालिकाले पनि केबलकार निर्माणको लागि नेतृत्वदायि भूमिका निर्वाह गर्ने योजना अगाडि सारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा नै समावेश गरेर व्यवसायीहरुलाई लगानी गर्न प्रेरित गर्ने उल्लेख गरेको छ ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले देशकै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने मुख्य उदेश्य सहित खाँडादेवी मन्दिरको गुरु योजना तयार गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘ऐतिहासिक धार्मिक पर्यटकीयस्थल खाँडादेवी मन्दिरको विकास गरेर गाउँपालिकाले पर्यटक भित्र्याउने नीति लिएको छ ।’ सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबलकार निर्माणको गर्नको लागि प्रदेश सरकारले काम अगाडि बढाएको बताउदै अध्यक्ष तामाङ अब ओझेलमा परेको खाँडादेवीको विकास गरेर अगाडि बढने बताए ।
डिजाइनको जिम्मेवारी पाएको इन्जिनियरको घर प्रालिका सञ्चालक सरोज कुमार कार्कीले डिजाइनको काम तोकिएकै समयभित्र सम्पन्न गरेर खाँडादेी गाउँपालिकालाई बुझाएको बताए ।

शक्तिपीठको रुपमा सदियौंदेखि भक्तजनहरुले मान्दै आएको खाँडादेवी मन्दिरमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्ने गरेको छ । रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा सहित तराईका विभिन्न जिल्ला र काठमाडौंबाट पनि भक्तजनहरु दर्शनका लागि मन्दिरमा आउने गरेका छन् । पछिल्लो समयमा खाँडादेवी मन्दिरमा दर्शन गर्नेहरुको दर्शनार्थीहरुको भिड बढेको छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्