रामेछाप जिल्लाका सबै नाका बन्द गर्ने निर्णय
१० चैत्र, रामेछाप ।
रामेछाप जिल्लाका सम्पूर्ण नाकाबाट सवारी साधन आवत जावत गर्ने रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमण जिल्लाभित्र फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले आजबाट सवारी साधनमा रोक लगाएको हो । गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा सवारी साधन सञ्चालन गर्न रोक लगाएसँगै रामेछाप प्रशासनले पनि आज बिहानबाट यात्रु वाहक सवारी साधनमा रोक लगाएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकार रुद्रादेवी शर्माले सवारी साधन आवात जावतमा पूर्ण रुपमा रोक लगाइएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘हिजो नै रामेछापका लागि हिडेका एक/दुई वटा मात्र सवारी साधन जिल्ला भित्रिएका छन, भोलीबाट एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन भित्रन दिदैनौं, नाकामा कडाई गछौं ।’ तर उहाँले अत्यावश्यक इन्धन र खाद्न सामाग्री गर्ने ढुवानीका साधन भने सञ्चालन हुने जानकारी दिनुभयाे ।
रामेछापसँग काभ्रे, दोलखा, सालुखुम्बु, ओखलढुंगा र सिन्धुलीसँग सीमाना जोडिएको छ । मुख्य गरी दोलखाको र सिन्धुली रामेछाप जोडने सेलेघाट नाकाबाट सवारी साधनको बढी चाप हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिवार र आइतवार मात्र ठूला साना गरेर चार सय भन्दा बढी सवारी साधन रामेछाप भित्रिएका छन् ।