गाउँमा अपरिचित व्यक्ति आउन थालेपछि रामेछापमा स्थानीयले बन्द गराए सडक
१७ चैत्र, रामेछाप ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउनको लागू गरेको छ । शहरी क्षेत्रमा लकडाउनको पालना भएपनि गाउँगाउँमा पनि अहिले पनि घुमफिर गर्ने क्रम रोकिएको छैन् । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित खानी गाउँमा अपरिचित व्यक्तिहरु आउन थालेको भन्दै स्थानीयले टोलमा आउने सडक बन्द गराएका छन् ।
खानीगाउँका स्थानीय जीवन रानामगरले गाउँमा मोटरसाइकल र गाडी लिएर भलिवल खेल्न अपरिचित व्यक्तिहरु आउने क्रम बढेपछि स्थानीय मिलेर आज टोलमा प्रवेश गर्ने सडक बन्द गराएको रामेछाप न्युजलाई बताउनुभयो उहाँले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण आफ्नो टोलमा फैलिन नदिनको लागि टोल प्रवेशमा सवारी साधन निषेध गरेको बताउनुभयो ।
खानी गाउँमा पचास भन्दा बढी घरधुरी रहेको छ । खानी गाउँमा भलिवल खेलमैदन व्यवस्थित भएकाले काठमाडौंबाट गाउँ गएका सुनापती गाउँपालिका र अन्य वडाहरुबाट समेत युवाहरु जाने क्रम बढेपछि सडकमा बाँस गाडेर प्रवेश निषेध गरेको थापामगरले जानकारी दिनुभयो ।