काठमाडौंको विकल्प बन्दै रामेछापको मन्थली, पर्यटकको घुइँचो



स्नेहा सिलवाल

२० चैत्र, काठमाडौं । कुनै बेला सुनसान रहेको रामेछापको मन्थली विमानस्थल अहिले खचाखच भरिएको छ । विमानस्थलको कालोपत्रे भएसँग केही महिना अघिबाट सोलुखुम्बुको लुक्ला उडान सुरु भएको थियो । मन्थलीबाट लुक्ला कार्गे मात्र लिएर विमान उडने गरेका थिए । तर अहिले भने मन्थली विमास्थलमा भिडभाड बढेको छ ।

गत सोमबारदेखि तीन महिनासम्म त्रिभुवन विमानस्थलको धावनमार्ग राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मत गर्ने तय भएपछि लुक्लाको उडान त्रिभुवन विमानस्थलबाट हुन कठिन हुने देखिएपछि रामेछापबाट लुक्ला उडान गर्न थालिएको हो ।

सगरमाथासहित खुम्बु क्षेत्रमा रहेका हिमाल आरोहणको सिजन सुरु हुन लागेसँगै लुक्ला जानको लागि काठमाडौंको विकल्प मन्थली विमानस्थललाई बनाइएको छ । आरोहण तथा घुमफिरलाई सोलुखुम्बु जाने पर्यटक उडानका लागि गाडीबाट काठमाडौंदेखि रामेछाप जाने गरेका छन् ।
त्यसपछि मन्थलीमा रहेको विमानस्थलबाट जहाज चढेर लुक्ला जान पाउने छन् । काठमाडौं–लुक्ला उडान स्थगित गरेर हाले तीन दिनदेखि रापेछाप–लुक्ला उडान सुचारु गरिएको नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख अमित कुमार चौरसियाले रामेछाप न्युजलाई बताए ।


रामेछापबाट लुक्ला उडान तुलनात्मक रूपमा छोटो र मौसमको कारणले पनि सहज मानिन्छ । मौसमको अनकूलतामा मात्र उडान गर्नुपर्ने लुक्ला विमानस्थलमा छोटो समय नै उडान भर्न सकिने भएकाले पर्यटक पनि मन्थली विमानस्थल मार्फत नै लुक्ला जाने गरेका छन् ।

लुक्लाको मौसम क्षण–क्षणमा परिवर्तन भइरहने हुँदा हवाई उडानको समय थपघट भइरहन्छ । यद्यपि, औसतमा काठमाडौं–लुक्ला उडान समय ३५ देखि ४० मिनेटको हुने गर्छ । तर, रामेछापबाट उडान सुरु भएपछि लुक्ला पुग्न २० देखि २२ मिनेट लाग्ने गरेको छ । प्रमुख चौरसियाले रामेछापबाट उडानका लागि धेरै चाप नपर्ने र समयमै उडान भर्न सकिने बताए । उनका अनुसार मौसम अनुकूल भएमा रामेछापबाट पनि दैनिक ५० उडान गर्न सकिने भएपछि हाल दैनिक २० देखि २५ फ्लाइट हुने गरेको छ । मन्थली विमानस्थलबाट सिता, तारा र समिट एरलाइन्सले उडान भदै अाएका छन् ।

प्रतिक्रिया दिनुहोस्