समाजसेवी लामाः ट्रक किनेर बेथानका १३६ घरपरिवारलाई निशुल्क खानेपानी वितरण



स्नेहा सिलवाल
४ वैशाक, रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिका– ४ बेथानस्थित भ्वाँसामा चार बर्ष अघि गएको विनाशकारी भुकम्पले खानेपानीको मुहान सुक्यो । खानेपानीको समस्या थपिएपछि बास नै सर्नुपर्ने अवस्था भ्वाँसा र बेथानलेकका स्थानीयमा आइलाग्यो । पिउने पानीको अभाव कसरी व्यवस्था गर्ने चिन्ता पनि स्थानीयमा थपिदै गयो । नजिकै खानेपानीको मुहान नभएपछि चिन्तामा परेका स्थानीयको पानीको प्यास मेटाउने काम गर्यो, सुनापती भ्वाँसा च्यारिटी मेडिकल सेन्टरले ।
प्राथमिकता उपचार गर्न पनि काठमाडौं जानु पर्ने बाँध्यता हटाउदै भ्वाँसाका स्थानीय समाजसेवी एवं धर्मगुरु विमानसिंह लामाले दिवंगत आमाको स्मृतिमा भ्वाँसमा च्यारिटी मेडकल सेन्टर सञ्चालन गदै आएका छन् ।

भुकम्पपछि गाउँघरमा खानेपानीको चरम अभाव भएपछि मेडिकल सेन्टरले भाडामा सुनकोसी नदीबाट ड्रममा पानी ल्याएर खुवाउने व्यवस्था पनि मिलायो । सुरुमा भ्वाँसाको ५१ घर परिवारलाई निशुल्क रुपमा खानेपानीको व्यवस्था गरेको च्यारिटी मेडिकल सेन्टरले अहिले बेथानको माथिल्लो क्षेत्रमा खानेपानीको अभाव झेल्दै आएको बासिन्दालाई पनि साथ दिएको छ ।

बेथानलेकमा खानेपानीको ट्याङकी निर्माण भएपनि भुकम्प गएपछि पानीको अभावमा प्रयोग विहीन भएको थियो । जहाँ सडकको पहुँच पनि थिएन । च्यारिटी अस्पतालकै पहलमा अहिले ट्याङकीसम्म सडक पुगेको छ । सडक मात्र पुगेन अहिले अस्तालकै पहलमा खानेपानी पनि पुगेको छ । जुन खानेपानी बेथानका ८५ घरपरिवारले उपभोग गर्न पाएका छन् । अस्पतालको ट्रकले दैनिक रुपमा सुनकोसी नदीबाट पानी लगेर ट्याङकीमा हाल्ने गरेको छ ।

समाजसेवी एवं सुनापती भ्वाँसा च्यारिटी मेडिकल सेन्टरका सञ्चालक बिमानसिंह लामाले गाउँमा खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई खानेपानी खुवाउन सकेकोमा खुसी लागेको बताए । उनले रामेछाप न्युजसँग भने,‘जीवनलाई सार्थक बनाउन समाजसेवा भन्दा अरु ठूलो धर्म छैन् ।’ खानेपानीको समस्यामा परेका १ सय ३६ घरपरिवारलाई दैनिक रुपमा खानेपानीको व्यवस्था गरेका बताउदै लामाले बेथानमा रहेको २२ हजार लिटरका खानेपानी ट्याङमा करिब सात किलोमिटर टाढाबाट दैनिक चार हजार लिटर खानेपानी पुर्याउने गरेको बताए ।
सुरुमा भाडामा ट्रक मार्फत खानेपानी वितरण गर्दा भाडा महंगो परेपछि अस्पतालको पहलमा ह्यापी अल ट्रष्ट कोरियाको सहयोगमा अहिले वीस लाख रुपैयाँमा ट्रक खरिद गरेको छ ।

अस्पतालले आफैले ट्रक खरिद गरेपछि आर्थिक रुपमा केही राहत भएको बताउदै सञ्चालक लामाले १७ वटा ड्रममा पानी भरेर भ्वाँसा र बेथानका बासिन्दालाई खुवाउदै आएको बताए । पानी नै बोक्न गाडी किनेको अस्पतालले आगामी दिनमा पनि खानेपानी वितरणको कामलाई निरन्तरता दिने नीति लिएको छ ।

च्यारिटी मेडिकले सेन्टर सञ्चालनमा आएपछि दुर्घटनामा परी घाइते भएकाहरुलाई प्राथमिक उपचार गर्न सहज भएको छ । सामान्य रोगको उपचार हुँदै आएको मेडिकल सेन्टरलाई आगमी दिनमा थप स्रोत साधनले सम्पन्न बनाएर लैजाने योजना बनाएको लामाले बताए ।

च्यारिटी मेडिकल सेन्टरले एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ । जसबाट बिरामी पर्दा काठमाडौ लैजान सहज भएको छ । मेडिकल सेन्टरले गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा पुगेर निशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने, अपाङगता भएका व्यक्तिहलाई ह्वीलचियर प्रदान गर्ने लगायतको सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्