तीन नम्बर प्रदेशको नाम शैलुङ राख्न सकिन्छः मन्त्री ढुंगेल
१५ वैशाक, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश ३ को नाम शैलुङ राख्न सकिने बताएका छन् । उनले विभिन्न नाम प्रस्तावको रुपमा आएको बताउदै पर्यटकीय, धार्मिक एवं सांस्कृतिक रुपमा साझा गन्तव्य शैलुङबाट पनि प्रदेशको नामाकरण गर्न सकिने बताएका हुन् ।
प्रथम शैलुङ प्राकृतिक एवं सास्कृति पर्यटन महोत्सवको आइतवार समापन गर्दै मन्त्री ढुगेलले शैलुङलाई विकसित गर्न सकेको खण्डमा देशको अर्थतन्त्रलाई नै टेवा पुग्ने विश्वास व्यक्त गरे ।
शैलुङ रामेछाप र दोलखाको मात्र साझा पहिचान नभई प्रदेश नम्बर तीनकै साझा गन्तव्य हो, साझा पहिचान बनाएको शैलुङको नामबाट पनि प्रदेशको नामाकरण गर्न सकिन्छ, मन्त्री ढुंगेलले भने ।
उनले शैलुङको विकासमा आफू प्रतिबद्ध रहेको बताउदै सडक निर्माणको साथै सित्खाबाट शैलुङसम्म बेलकार ल्याउनको लागि काम अगाडि बढाइएको बताए । केबलकार निर्माण गर्ने कार्यक्रमलाई यस आर्थिक बर्षको बजेट पनि निरन्तरता पाउने बताउदै उनले शैलुङ आन्तरिक पर्यटकहरुको लागि मात्र नभई विदशी पर्यटकहरुको पनि गन्तव्यस्थल भएको बताए ।
शैलुङको सम्पदा, जडिबुटी, पानी, हरियाली अहिले जे जस्तो अवस्थामा छ त्यसलाई त्यही अवस्थामा बचाउन आवश्यक रहेकोमा जोड दिदै मन्त्री ढुंगेलले भने,‘शैलुङलाई देशकै प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गछौं ।’ तीन नम्बर प्रदेशको प्रमुख गन्तव्यको रुपमा शैलुङलाई स्थापित गर्ने कार्यमा आफूले भूमिका खेल्ने बताउदै उनले शैलङलाई अध्ययन केन्द्रको विश्वविद्यालय बनाउनु पर्ने बताए ।
मन्त्री ढंगेले शैलुङको विकास गर्न रामेछापको दोरम्बा गाउँपालिका, दोलखाको मेलुङ र शैलुङ गाउँपालिकालाई संयुक्त योजना बनाएर आउन आग्रह गरे । शैलुङको विकास गर्नको लागि बजेटको अभाव हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरे ।