रामेछापमा सफल बन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमः २१९ समिति गठन
स्नेहा सिलवाल
३० वैशाक, काठमाडाैं । रामेछाप जिल्लामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । समुदाय र प्रहरीको सहकार्य मार्फत जिल्लाभित्र हुने अपराध नियन्त्रण गर्ने मुख्य उदेश्य सहित गत कातिक २१ बाट सुरु भएको अभियान प्रभावकारी बनेको हो । रामेछापको ८ वटा स्थानीय तह, ६४ वटा वडा, टोल र विद्यालयहरुमा समिति गठन गर्नुको साथ जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदातलले समुदाय प्रहरी साझेदारी कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘समिति गठन गर्दै प्रहरी टोलटोलमा पुगेको छ, समाजमा हुने अपराध नियन्त्रण गर्न ठूलो सहयोग पुर्याउने अपेक्षा लिएका छौं ।’ कार्यक्रममा नागरिकहरुले देखाएको साथ र सहयोगको कारण प्रहरीलाई काम गर्न झन सहज भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार १ वटा जिल्ला समिति, ८ वटा स्थानीय, ६४ वटा वडा समिति गठन सँगै टोल र विद्यालय सहित २१९ वटा समिति गठन भएको छ ।
समिति गठन र विद्यालयमा विद्यार्थीहरुलाई आत्म सुरक्षाको बारेमा जनचेतना अभिबृद्ध गर्ने कार्यमा सहभागी हुँदै आएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी जवान केदारबाबु कार्कीले कार्यक्रम निकै सफल बन्दै गएको बताए । उनका अनुसार ७ वटा सार्वजनिक सुनुवाई, २ वटा अस्प्ताल र मन्दिर सरसफाई लैङगिक हिंसा, घरेलु हिंसा सम्बन्धि स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले विद्यालयका छात्र छात्राहरुलाई सहभागी गराई ५ वटा प्रहरीसँग एक दिन कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।
रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापा मगरेले समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै राम्रो भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘नगरपालिकाले प्रहरीलाई आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउछौं ।’
त्यसैगरी मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले शान्ति सुरक्षा कायम गर्न र अपराधिक क्रियाकलाप हुन नदिन समुदाय–प्रहरी साझेदारी कार्यक्रम सफल रहेको बताए । उनले नगरपालिकाको टोलटोलमा समिति गठन भएपछि थप सहज भएको बताए ।
मन्थली माविका माविका प्रअ टंक प्रसाद दाहालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए । जिल्ला समितिका सदस्य समेत रहेका प्रअ दाहालले मन्थली माविमा अध्ययनरत विद्यार्थीहरुलाई प्रहरीले गर्ने काम र समुदायले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा जानकारी गराउने काम भएको बताए ।
उनले रामेछाप न्युजसँग भने,‘विद्यार्थीहरुलाई प्रहरीसँग डराउनु पर्छ भन्ने मानसिकता समाजमा कायमै हुँदै आएको थियो, अहिले प्रहरी कार्यालयभित्र हुने सबै गतिविधिको बारेमा स्वयंम विद्यार्थीहरुले नै अवलोकन गरेपछि त्रास हटदै गएको र प्रहरी मेरो साथी हो भन्ने भावना विकसित हुँदै गएको छ ।’
समाजमा हुने अपराध नियन्त्रण गर्न, सम्भावित दुर्घटनाबाट बच्न र बचाउन अपनाउनु पर्ने विषयमा प्रहरीले नागरिकहरुलाई जानकारी गराउदै आएको छ । अभियान अन्तर्गत प्रहरीले दुर्घटना हुँदा प्रहरीलाई सम्पर्क गर्ने १०० नम्बर, नजिकैको प्रहरी कार्यालयको सम्पर्क नम्बर, दमकल लगायतको बारेमा पनि जानकारी गराउदै आएको छ ।