मन्थलीमा १० करोड लगानीमा एक साथ तीन स्वीमिङ पुल बन्दै
स्नेहा सिलवाल
८ जेठ, काठमाडाैं । अध्याधिक गर्मी हुने रामेछापको सदरमुकाम मन्थलीमा अब स्वीमिङ पुल निर्माण हुने भएको छ । मन्थली नगरपालिकाले हाटेचौरस्थित करिब २ सय रोपनी क्षेत्रफलमा पार्क सहितको स्वीमिङ पुल निर्माण गर्न लागेको हो । नगरवासीहरुको चाहना अनुसार स्वीमिङ पुल निर्माण गर्न हाल डिजाइनको काम अन्तिम चरणमा पुगेको छ ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले यही जेठ महिनाभित्र नै पार्क सहितको स्वीमिङ पुल निर्माण गर्न ठेक्का आह्वान गर्ने तयारी भइरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार महिला, पुरुष र बालबालिकाको लागि तीन वटा स्वीमिङ पुल बन्नेछ ।
हाल पार्क सहितको स्वीमिङ पुलको गुरु योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिजाइनको जिम्मेवारी पाएको इन्जिनियरकाे घर प्रालिका सञ्चालक सरोज कुमार कार्कीले डिजाइनको काम तोकिएकै समयभित्र सम्पन्न गर्ने गरी काम भइरहेको रामेछाप न्युजलाई बताए ।
उनले भने,‘काम धमाधम भइरहेको छ, यही महिनाभित्र नै ठेक्का लगाउने मन्थली नगरपालिकाको तयारी छ, हामी समयभित्र नै रिपोर्ट बुझाउछौं ।’ उनका अनुसार एउटा स्वीमिङ पुलमा एक पटकमा २५ जनासम्म हटाउन सक्ने छन् ।
‘मन्थलीमा स्वीमिङ पुल निर्माण गर्ने मेरो निकै अगाडिदेखिको चाहना थियो’, वस्नेतले भने,‘अहिले आएर मेरो सपना पूरा गर्ने योजना अगाडि बढेको छ ।’ आफ्नै कार्यालयमा स्वीमिङ पुल निर्माणको काम सम्पन्न गर्ने गरी तीब्र गतिमा काम अगाडि बढाउने लक्ष्य राखेको उनले बताए । केन्द्र सरकारको ४ करोड र मन्थली नगरपालिकाको ६ करोड लगानीमा स्वीमिङ पुल निर्माण हुन लागेको हो । चर्को गर्मी हुने मन्थलीमा स्वीमिङ पुल सञ्चालनमा आएपछि मन्थलीवासीलाई राहत मिल्ने भएको छ ।