खैरेनीघाटको पुल ११ पछि बन्यो तर बाटो नहुँदा सास्ती (भिडियोसहित)
२२ साउन, रामेछाप ।
रामेछाप–सिन्धुली जोडने खैरेनीघाटको पुल ११ बर्षपछि सञ्चालनमा आएपनि सिन्धुलीतर्फ बिपी राजमार्गबाट पुलसम्म जोडन सडक नहुँदा सास्ती भएको छ । बर्षाको समयमा सुनकोसी नदी उर्लिएको कारण अस्थायी सडकबाट यातायात सञ्चालन गर्न नसकिने अवस्था छ । सुनकोसी नदी किनाराबाट यस अघि अस्थायी रुपमा यातायात सञ्चालन भएपनि हाल कोसी बढेकाले सडक नै डुबाएको छ ।
जबरजस्ती रुपमा ठूला बस र ट्रिपर सञ्चालन भएपनि साना सवारी साधन सञ्चालन गर्न आह्रो भएको स्थानीय इलकसिंह तामाङले रामेछाप न्युजलाई बताए । उनका अनुसार पुल निर्माणको क्रममा नै ठेकेदार कम्पनीले पुलको दायाँबायाँ जोडने सडक निर्माण गर्नुपर्ने भएपनि काम बाँकी हुँदाको अवस्थामा नै उदघाटन गरिएको छ । केही दिन अघि पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, खैरेनीघाटको पुल उदघाटन गरेका थिए ।
पुल सञ्चालनमा आएपछि खुसी भएका रामेछापवासी दिगो सडक नहुँदा भने पुनः चिन्तित भएका छन् । स्थानीय राज मैनालले भने,‘पुल उदघाटन गर्नु अघि नै सडकको बारेमा टुंगो लाग्नु पर्ने हो तर अहिले बिपी राजमार्गदेखि नजिकै रहेपनि कहाँबाट सडक सञ्चालन गर्ने भन्ने अन्यौलता रहेको छ ।’
बीपी राजमार्गबाट करिव चार सय मिटर दुरीमा पुलमा पुगिने भए पनि स्थानीयले बाटो दिन इन्कार गर्दा पुल बनेर पनि रामेछापवासीले उपयोग गर्न नपाउने अवस्था सिर्जना भएको छ ।
अहिले जग्गाको मोल अत्यत्न बृद्धि भएकाले विना मुआब्जा जग्गा नदिने पक्षमा किसान रहेका छन् । पुलसम्म पुग्नका लागि आदिलिंग कुशेश्वर मन्दिरहुँदै जान सकिने भए पनि सम्पदा क्षेत्रबाट हाइवे लैजान नमिल्ने पुरातत्वविदहरु बताउँछन् ।
ऐतिहासिक तथा धार्मिक सम्पदाको रुपमा पुरातत्वले समेत काम गरिरहेको आदिलिंग कुशेश्वर मन्दिरको छेउबाट कुनै पनि हालतमा बाटो लैजान नमिल्ने सम्पदाविज्ञहरु बताउँछन् । पुलसम्म बाटो गजुलीदह बजारको अगाडिबाट या गजुलीदहको पुटारबाट कोशीको किनारै किनार निकाल्नुको विकल्प नभएको स्थानीय बताउँछन् ।
भिडियाे