राखेपका सदस्य सचिव घिसिङ जापान प्रस्थान



काठमाडौं, माघ १६ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ मंगलबार जापानको टोकियो प्रस्थान गरेका छन् । जापान खेलकुद परिषद् (जेएससी) को निमन्त्रणमा सदस्य–सचिव घिसिङ, राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक कृष्णप्रसाद तिमिल्सिना र सदस्य–सचिवको सचिवालयकी सुलोचना सिजाख्वासहित ३ सदस्यीय टोली जापान प्रस्थान गरेको हो ।

जापानमा रहँदा सदस्य–सचिव घिसिङ र जेएससीका पदाधिकारीबीच दुई पक्षको सहकार्य सम्बन्धमा हुने बैठकमा सहभागी हुने छन् । साथै जेएससी मातहतका हाइ पर्फमेन्स सेन्टर, जापान स्पोर्ट्स साइन्स, स्पोर्ट्स फर टुमोरो कार्यक्रमको अवलोकन पनि गर्ने छन् । त्यसपछि सदस्य–सचिव घिसिङ दक्षिण कोरियाको सिओलमा फेब्रुअरी ६ तारिखमा हुने ग्लोबल स्पोर्ट्स टुरिजम प्लेनममा सहभागी हुनुका साथै कार्यक्रमलाई सम्बोधन समेत गर्ने छन् । सिओलको कार्यक्रममा सदस्य–सचिव घिसिङ मात्र सहभागी हुने छन् ।
जापान प्रस्थान गर्नुअघि सदस्य–सचिव घिसिङले राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी भ्रमणको उद्देश्य र एजेन्डा बारे जानकारी गराएका थिए । भ्रमणको विषयमा सदस्य–सचिव घिसिङले राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पनि भेट गरी जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्