सुनापति गाउँपालिकालाई थाङ्का हब घोषणाः एक हजार जनालाई रोजगारी दिने घोषणा
२७ चैत्र, रामेछाप ।
सुनापति गाउँपालिकालाई देशकै थाङ्काको केन्द्र बनाउने घोषणा गरिएको छ । सुनापति गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्धारा गाउँपालिका–४ डहुमा आयोजित एक कार्यक्रमकोबीच पालिकालाई थाङ्का हब घोषणा गरिएको हो ।
गाउँपालिकाको डहुमा थाङ्का लेखन व्यवसायमा परिचित छ । त्यसैगरी गाउँपालिकाको लगानीमा डहुमा ४० जनाका लागी थाङ्का लेख्ने तालिम सुरु गरिएको छ । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य युवराज चौलागाई,नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’ र पर्यटन बोर्डका सदस्य रामप्रसाद सापकोटा ‘कमल’को सहभागीता रहेको थियो ।
लामो समयदेखि गाउँपालिकाकाको हिलेदेवी, डहु भल्वाडीमा सयौ व्यक्तिहरु थाङ्का लेखन व्यवसायमा आबद्ध रहदै आएका छन् । सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले थाङ्का मार्फत गाउँपालिकाभित्र एक हजार जनालाई रोजगारी सृजना गर्ने योजना रहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले थाङ्का लेखन व्यवसायलाई प्रबद्र्धन गर्नको लागि सुरुमा अहिले तीन महिने तालिम सुरु गरेका छौ, सुनापति गाउँपालिकालाई देशकै थाङ्काको केन्द्र बनाउँछौ ।’
गाउँपालिकाको कार्यालयमा थाङ्का संग्राहलय बनाउने योजना अघि सारिएको बताउदै यसको विकासमा गाउँपालिकाले ध्यान दिएको बताए । थाङ्का विदेशमा निर्यात गरेर डलर भित्र्याउने योजनामा लागेका छौ, पालिकाभित्र थाङ्कासँग सम्बन्धित राम्रो आटिस पनि हुनुहुन्छ, यसको विकास गरेर पालिकाले राम्रो आम्दानी गर्न सक्छ भन्ने हाम्रो विश्वास छ, उनले भने ।