रामेछाप अस्पताललाई आगलागीबाट जोगाउन तीन सय रुख काटने तयारी
२१ वैशाख, रामेछाप ।
आगलागीको उच्च जोखिममा रहेको रामेछाप अस्पतालाई सम्भावित आगलागीबाट जोगाउनको लागि अस्पताल परिसरमा रहेको सल्लाको रुख काटिने भएको छ । रामेछाप अस्पतालले गत बर्षबाटै रुख कटान गर्नुपर्ने माग अघि सादै आएको थियो । केही दिन मात्र वनमा लागेको आगो अस्पताल परिसरमा आएपछि स्थानीय र सुरक्षाकर्मीहरुले रातभर लगाएर नियन्त्रणमा लिएका थिए । वनसँगै रहेको अस्पताललाई जोगाउनका लागि सल्लाको रुख काटने विषयमा डिभिजन वन कार्यालय पनि सहमत भएको छ ।
आज रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको संयोजकत्वमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अस्पतालाई आगलागीबाट जोगाउन तत्काल रुख काटने काम अघि बढाउने निर्णय गरेको छ । रामेछाप अस्पतालका निमित्त मे.सु. डा. केशव श्रेष्ठले अस्पतालमा आगलागीी हुने त्रासमा आफूहरु रहेको बताउदै तत्काल रुख काटने काम अघि बढाउने सहमति भएकाे रामेछाप न्यूजलाइ बताए ।
श्रेष्ठको प्रस्तावमा डिभिजन वन कार्यालयले सैद्धान्तिक सहमति जनाएसँगै आइतवारबाट रुख कटानको काम अघि बढने भएको छ । अस्पतालका अनुसार करिब ३ सय रुख काटनु पर्ने आवश्यता छ । अस्पतालले रुख काटिएको स्थानमा फलफुलका विरुवा लगाएर हरियाली प्रबद्र्धन गर्ने प्रतिबद्धता जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले अस्पताललाई सम्भावित आगलागीबाट जोगाउन रुख कटानको काम तत्काल अघि बढाउनु पर्ने बताइन ।