जिल्ला अस्पताल रामेछापका अध्यक्ष पाख्रिन भन्छन–अस्पताललाई नमूना बनाउछु
२९ मंंसिर, रामेछाप ।
जिल्ला अस्पताल रामेछापको अध्यक्षमा रोशन पाख्रिन नियुक्त हुनुभएको छ । सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय युवा नेता पाख्रिनलाई प्रदेश नम्बर ३ को सरकारले अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो । जिल्ला अस्पताल रामेछापको अध्यक्षमा नियुक्त हुनुभएका पाख्रिनले हाल १५ शैयामा सञ्चालन भइरहेको जिल्ला अस्पतालाई २५ शैयाको बताउन भूमिका खेल्ने बताउनुभयो ।
रामेछाप न्युजसँग कुराकानी गर्दै अध्यक्ष पाख्रिनले भन्नुभयो,‘रामेछाप अस्पताललाई सबै जनताले सहज रुपमा सेवा लिने गरी नमूना अस्पतालको रुपमा विकास गर्न मन बचन र कर्मबाट लाग्छु ।’
उहाँले भुकम्पको कारण भत्किएको पुरानो भवनलाई डेढ बर्षभित्रि पुननिर्माण गर्ने गरी योजना अगाडि बढाइने बताउदै सुविधा सम्पन्न अस्पताल निर्माण गर्न स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकारकासँग सक्दो पहल गर्ने बताउनुभयो । ‘अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सेवा उपलब्ध गराउने काममा ध्यान दिन्छु’, अध्यक्ष पाख्रिनले भन्नुभयो,‘अब निजी अस्पतालमा होइन सरकारी अस्पतालमा नागरिकहरु आउने वातावरण सृजना गर्न लाग्छु ।’
उहाँले अस्पताल हाताभित्र नै हेलिप्याड निर्माणको काम पनि अगाडि बढाइने बताउनुभयो । स्थानीय तहको सरकारसँग समन्वय गरेर बढी भन्दा बढी सेवा सुविधा जिल्ला अस्पतालबाटै प्रदान गर्ने कार्यमा आफू लाग्ने बताउदै सुविधा सम्पन्न थप एम्बुलेन्सको लागि पनि पहल गर्ने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका अनुसार मकवानपुरको हेटौँडा अस्पताल विकास समितिको अध्यक्षमा डेगराज (प्रकाश) पौडेल, चितवनको भरतपुर अस्पतालमा खिमलाल भण्डारी, धादिङ अस्पतालमा महेन्द्र धमला, नुवाकोटको त्रिशूली अस्पतालमा अर्जुनप्रसाद न्यौपाने, रसुवा अस्पतालमा रामशरण कुँइकेल नियुक्त भएका छन । त्यस्तै, भक्तपुर अस्पतालमा मिलन सुवाल, सिन्धुली अस्पतालमा प्रल्हाद पोखरेल, सिन्धुपाल्चोकको चौतारा अस्पतालमा ईश्वरीप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ ।
सामाजिक विकासमन्त्री युवराज दुलालले काठमाडौँ ललितपुर, काभ्रे र दोलखा अस्पताल प्रदेशमा हस्तान्तरण नभइसकेको जानकारी दिनुभयो । अस्पताल विकास समिति गठन आदेश स्वीकृत भएसँगै प्रदेश सामाजिक विकास मन्त्रालयले अध्यक्ष नियुक्ति गर्न बाटो खुलेको थियो ।