खाँडादेवी गाउँपालिकाभित्र विवाद छैनः वडा अध्यक्ष तामाङ
८ पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिका–७ खाँडादेवीका वडा अध्यक्ष असल सिंह तामाङले गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षहरुको बीचमा विवाद नरहेको बताउनुभएको छ । उहाँले गाउँपालिकाका र वडा अध्यक्षहरुको बीचमा विवाद नरहेको बताउनुभएको हो । वडा अध्यक्ष तामाङले भन्नुभयो,‘गाउँपालिकाभित्र अध्यक्ष र वडा अध्यक्षबीच बहस छलफल हुन्छ, यसलाई ठूलो विषय बनाउनु पर्ने आवश्यकता छैन् ।’ वडा अध्यक्षहरुले केही असन्तुष्टि राखेको भएपछि गाउँपालिकाका अध्यक्षसँग ठूलो विवाद नरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ र वडा अध्यक्षहरुबीच गाउँपालिकाको नवनिर्मित भवन उदघाटन गर्ने विषयमा सामान्य विवाद भएको थियो । तर निर्धारित कार्यक्रम अनुसार नै प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले भवन उदघाटन गर्नुभएको थियो ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले पालिकाभित्र रहेको समस्यालाई आगामी बैठकबाट समाधान गरेर अगाडि बढने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘केही विषयमा हाम्रो बीचमा छलफल हुन बाँकी नै छ, बाहिर हल्ला गरेजस्तो पालिकाभित्र विवाद छैन् ।’ पालिकालाई समृद्ध बनाउनको लागि गाउँ कार्यपालिकाको सिंगो टिम नै प्रतिबद्ध भएर लागेको बताउदै उहाँले देखा परेका केही समझदारीलाई समाधान गरेर अगाडि बढने विषयमा आफूहरुको बीचमा समझदारी भइसकेको बताउनुभयो ।
खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले गाउँपालिकाभित्र विवाद नरहेको बताउनुभयो । ‘छलफल र बहसलाई विवाद भन्न मिल्दैन’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘गाउँपालिकालाई राम्रो बनाउने विषयमा छलफल र बहस आवश्यक पर्छ, गाउँपालिकालाई राम्रो बनाउन कुनै पनि विवाद आवश्यक छैन ।’ गाउँपालिकाको समृद्धि र विकासको लागि हाम्रो टिम एकताबद्ध भएर लाग्छ, वडा अध्यक्ष कार्कीले भन्नुभयो ।