‘पाँच बर्षभित्र उमाकुण्ड गाउँपालिकालाई नमूना बनाएर देखाउछौं’
रामेछापको उमाकुण्ड गाउँपालिका क्षेत्रफलका हिसाबले जिल्लाको आठ स्थानीय तह भन्दा जिल्लाकै ठुलो गाउँपालिका हो । ७ ओटा वडा भएको गाउँपालिकामा एक वडाबाट अर्को वडामा जान एक दिन लाग्छ । स्थानीय सरकार आएसँगै गाउँपालिकावासीले विकास निर्माण हुने आशा र अपेक्षा लिएका छन् । सर्वसाधरणले स्थानीय सरकार पाएको पनि झण्डै दुई वर्ष पुग्न लाग्यो । गाउँपालिकाले यो अवधिमा पालिकाको समग्र विकास निर्माणको काम आगामी योजना स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध लगायतको विषयमा केन्द्रीत रहेर उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारसँग रामेछाप न्युजको लागि रामचन्द्र वि.क.ले गरेको कुराकानीः–
गाउँपालिकाको विकास निर्माणको काम कसरी अगाडि बढीरहेको छ ?
हामी निर्वाचित भएर आएको करिब दुई वर्ष हुन लाग्यो । यो गाउँपालिका भूगोलका हिसाबले दुर्गम भए पनि अन्य पालिका भन्दा प्राकृतिक स्रोत साधनले भरिपुर्ण छ । तर जिल्लाको अन्य स्थानीय तह भन्दा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, आर्थिक, सामाजिक, राजनीतिक लगायत धेरै कुराले पछि परेको गाउँपालिका हो । त्यसैले समग्र गाउँपालिकाको आवश्यकतालाई आधार बनाएर आगामी पाँच वर्षभित्र नमूना उमाकुण्ड गाउँपालिका बनाउने अभियानमा लागिरहेका छौं ।
कुन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?
–कुनै वडाबाट गाउँपालिकाको केन्द्रमा आउन एक दिन नै लाग्छ । त्यस्तै सदरमुकाम जान झन बढी सास्ती छ । भौगोलिक दुरीबाट टाढा रहेका नागरिकलाई सडक सञ्जालको माध्यमबाट नजिक बनाउने कामलाई नै पहिलो प्राथमिकता दिएका छौं । सोही अनुसार अहिले सडक बनाउने काम धमाधम भइरहेको छ । यसअघि बनेका केही सडकहरु मापदण्ड नपुग्ने खालका थिए । ती सडकको स्तरउन्नती गरिएको छ । अहिले जुनसुकै सडक बनाउँदा पनि प्रविधिक स्टिमेट गरेर मात्रै बनाएका छौँ । जसले गर्दा वर्षयाममा समेत नियमित रुपमा सवारी चलाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिएका छौं ।
सडकमात्रै विकास हो भनेर सामाजिक विकास, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रलाई स्थानीय सकारले भुल्यो भन्छन् नि ?
धेरै काम यस्ता छन्,जुन काम प्रत्यक्ष रुपमा देख्न सकिदैन । त्यस्तैभित्र सामाजिक विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरु पर्दछन् । हामीले यी कुरामा पनि विशेष निगरानी राखेर काम गरीरहेका छौँ । तर यसमा चाहीँ जो लक्षित वर्ग हो उहाँहरु पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । स्थानीय सरकारको मात्रै मुख ताकेर विकास सम्भव छैन् । नागरिक विकासको नाममा पराजीवि भएको हो कि भन्ने भान भएको छ । त्यसैले विकासको निम्ति आफूलाई पनि अग्रसर बनाउनु पर्छ ।
जनप्रतिनिधिको काम सिफारिस दिने जस्तो मात्र भयो भन्ने आरोप छ नि ?
स्थानीय सरकार आएपछि जनताले विकासमा मुख्य भूमिका हुन्छ भनेर नै सोचेका थिए । तर अहिले कर्मचारीले गर्ने काम हामीले गरिरहेका छौँ । जस्तो नागरिकताको सिफारिस दिदा सबै विवरण भरिसके पछि मात्रै हामीले प्रमाणित गर्नु पर्ने हो । तर विवरण भर्नेदेखि लिएर छाप लगाउने, दर्ता गर्ने लगायतका केही काम हामीले नै गर्नु परेको छ । यसो हुनुमा कर्मचारीले आफूले गर्ने कामको हेक्का नराखेर नै हो । जसले गर्दा विकास निर्माणको काममा समेत बाधा पुगेको छ ।
त्यसो भए जनप्रतिनिधि र कर्मचारी बीचको समन्वय नभएको हो ?
सबै कुरा समन्वय नभएको भन्न त मिल्दैन । तर जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो कामको जिम्मेवारीलाई ध्यान नदिदा यस्तो समस्या आएको हो । आगामी दिनमा दुबै पक्षले आफ्नो जिम्मेवारीलाई ध्यान दिनु पर्नेमा जरुरी छ ।
गाउँपालिकाभित्रका नागरिकहरु सूचनाको पहुँचबाट कतिको नजिक छन् ?
भौगोलिक विकटताको कारणले गर्दा धेरै नागरिकहरु पाउँनु पर्ने सूचनाहरुबाट अझै पनि बञ्चित नै छन् । गाउँपालिकाले गरेको धेरै राम्रा काम जनता माझसम्म पुर्याउन सकेका छैनौँ र उनीहरुको आवश्यकतालाई सहज रुपमा बुझ्न पनि सकिहरहेका छैनौँ । तर हामीले वडाअध्यक्षहरु मार्फत सूचनाहरु प्रवाह गरिरहेका छौँ ।
समृद्ध उमाकुण्ड बनाउने के योजना छ ?
यो गाउँपालिका प्राकृतिक स्रोत साधनले भरिपुर्ण गाउापालिका हो । यो स्रोत साधनलाई सही ढंगले प्रयोग गरेर हाम्राे कायकालभित्र जिल्ला कै नमूना गाउँपालिका बनाउने योजना अघि सारेका छौ । बिदेश पलायन भइरहेका युवालाई गाउँपालिकामै रोजगारी हुनेगरी दीर्घकालिन योजना बनाएर अगाडि बढाउने योजना अगाडि सारेका छौं ।