सकेसम्म स्थानीय तहबाटै नागरिकता वितरण गछौः प्रजिअ शर्मा



रामचन्द्र वि.क.
२६ पुस, रामेछाप ।  रामेछापको गोकुलगंगा गाउपालिकाका सर्वसाधारणलाई लक्षित गरी राखिएको एकीकृत घुम्ती शिविर मार्फत पहिलो दिन विहिबार १ सय ४० जना सर्वसाधरणले नागरिकता लिएका छन् । गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा भएको शिविर विहिबार र शुक्रबार चल्ने छ ।

विभिन्न कारणले नागरिकता लिन नसकेका तथा सदरमुकाम आउन नसकेका स्थनीयलाई लक्षित गरी एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।


उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हाम्रो काम नागरिकहरुलाई सेवा दिने हो, सकेसम्म स्थानीय तहसँग समन्वय गरेर एकीकृत घुम्ती शिविर मार्फत नै नागरिकता वितरण गछौं ।’ उहाँले रामेछापको स्थानीय तहसँग समन्वय गरेर एकीकृत घुम्ती नागरिकता शिविर मार्फत नागरिकहरुलाई सेवा दिदै आएको र आगामी दिनमा यस कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
शिविरमा १ सय ५० जनाले फोटो सहितको मतदाता नामवालीमा नामा दर्ता गराएका छन् भने १० जनाले व्यवसय दर्ता तथा नविकरण गरेका छन् ।


गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले गाउँघरबाटै नागरिकता प्राप्त गरेपछि गाउँपालिकावासी खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नागरिकता बनाउनको लागि घण्टौ धाएर सदरमुकाम जानु पर्ने बाँध्यता हटाएर गाउँपालिकाबाटै नागरिकता वितरण हुनु राम्रो काम हो ।’


गोकुलगंगा गाउपालिकाको वडा नम्बर ३ को कार्यलय रस्नालुबाट प्रबाह गरिएको सेवामा वडा नं. १ देखि वडा नम्बर ६ सम्मका स्थानीयको सहभागीता रहेको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिब कुमार राइले जानकारी दिनुभयाे । उहाँका अनुसार  बाँकी रहेका सेवाग्रहीले शुक्रबार पनि सेवा पाउने छन  ।

प्रतिक्रिया दिनुहोस्