प्रशारण लाइन निर्माणमा जताततै अवरोध भोः कुलमान घिसिङ



२९ पुस, काठमाडौंं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन निर्माणमा जताततै अवरोध हुँदा काम नै प्रभावित भइरहेको बताउनभयो । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनलाई कोसी नदी पार गराउन नदीभित्र ४० मिटर खनेर ७ वटा टावर खडा गर्नुपर्ने जोखिमयुक्त काम भए पनि नदीभित्र टाबर खडा गर्न पनि विरोध भइरहेको बताउनुभयो ।

उपमहानगरपालिकाले भने जस्तै प्रशारण लाइनको मार्ग परिवर्तन गर्न प्राविधिक रुपमा नमिल्ने बताउदै भन्नुभयो,‘उपमहानगपालिकाले उठाएका विषयमा प्रशारण लाइनले कुनै असर गरेको छैन, यहाँको मार्ग परिवर्तन गरिएमा यसको प्रभाव मुलुकभर पर्ने भएकाले प्रसारण लाइनको मात्रै नभएर मुलुककै विकास ठप्प हुन्छ ।’

प्रभावितलाई दिन सकिने सामाजिक सुरक्षाका विषयमा छलफल गर्न तयार छौँ तर मार्ग परिवर्तन गर्ने प्राविधिक विषयमा प्रवेश नगर्न आग्रह गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङसम्म पुग्ने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोर निर्माण गर्न लागिएको बताउनुभयो ।

देशमा विद्युत चाहियो पनि भन्ने अहिले टावर राख्ने काममा जताततै विरोध गर्ने शैली रहेको बताउँदै उहाँले भन्नुभयो,‘जता टावर राख्न खोज्यो उतै विरोध गर्ने हो भने कता बताउने टावर ? आकाशमा बनाउन त मिल्दैन !’

प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत सोही प्रशारण लाइनमा जोड्ने गरी विद्युत् खरीद सम्झौता गरिसकेको छ । सो करिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किटको प्रशारण लाइन निर्माण भइरहेको छ । त्यसको अनुमानित लागत तीन करोड ७५ लाख अमेरिकी डलर छ ।

दोस्रो खण्डमा इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२० मै सक्ने लक्ष्यका साथ काम भइरहेको छ । यो खण्डको अनुमानित लागत दुई करोड ५३ लाख अमेरिकी डलर छ ।
तेस्रो खण्डमा वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ । दुई करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२० मा सक्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्