कुलमान घिसिङको गृह जिल्लामा विद्युत प्राधिकरणको ‘एक्सन’



रामचन्द्र वि.क.
माघ १,रामेछाप । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गृह जिल्ला रामेछापमा विद्युत प्राधिकरणले बिजुलीको बिल नतिर्नेमाथि ‘एक्सन’ लिएको छ । लामो समयसम्म पनि बिजुलीको महशुल तिर्न आलटाल गर्दै आएका ग्राहकहरुको लाइन काटने तयारीमा विद्युत प्राधिकरण रामेछाप लागेको हो ।

जिल्ला कारागार रामेछापले कार्यालयमा प्रयोग गरेको विद्युतको महशुल तिर्न नसक्दा विद्युत लाइन काटिने भएको छ । आर्थिक वर्ष २०७४÷०७५ र चालु आर्थिक वर्षको सुरुदेखि नै हालसम्म करिब ८ लाख बराबर विद्युत महशुल बुझाउन नसकेको कारण कारागारको लाइन काटिन लागेको हो ।


गत आर्थिक वर्ष देखिकै रकम बाँकी रहेको र बुझाउनको लागि अनुरोध गर्दा समेत महशुल नबुझाएपछि पत्रचार नै गरेर लाइन काट्नु पर्ने बाँध्यता आएको नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले बताउनुभयो । उहाँका अनुसार तत्काल बाँकी रहेको महशुल नबुझाए जुनसुकै समयमा पनि विद्युत लाइन काटिने जानकारी सहित कारागारलाई पत्रचार गरिएको छ ।
जिल्ला कारागारमा बजेट नभएको कारण विद्युत महशुल बुझाउन नसकिएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख प्रमोद अधिकारीले बताउनुभयो । बजेट अभाकै कारण खानेपानी र औषधी लगायतको बिल समेत तिर्न नसकिएको उहाँको गुनासो छ ।
विद्युतको लागि भनेर वार्षिक २ लाख र खानेपानीको लागि २ लाख मात्र आउने गरेकोले कार्यालयमा हुने खर्चको सबै रकम तिन नसकिएको कारागार प्रमुख अधिकारले बताउनुभयो ।
कारागारमा विद्युत प्रयोग गरे बापत मासिक १ लाख र खानेपानीको ४५÷५० हजारको विल उठ्ने गरेको छ । कार्यालयमा खर्च अभाव भएको कुरा कारागार व्यवस्थापन विभागमा पटक–पटक जानकारी गराउँदा समेत सुनुवाई नभएको बताउदै अधिकारीले कारागारको समस्यालाई विभागले तत्काललै समधान नगरे कारागारमा ठूलो असर पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्