खुल्ला आकामुनि जाडोमा थरथरी काम्दै पढछन रामेछाप सल्लेका विद्यार्थी (फोटोफिचर)
राजन महतारा क्षेत्री
२ माघ, रामेछाप । विनाशकारी भुकम्पको कारण भत्किएको रामेछापका अधिकाशं विद्यालय भवनहरु धमाधम निर्माण भइरहेका छन् । चिटिक्क परेका पक्की भवन निर्माण भएपछि धेरै ठाउँमा खुसीयाली पनि छाएको छ । तर भुकम्प गएको तीन बर्षसम्म पनि रामेछाप नगरपालिका–८ सल्लेमा भने विद्यार्थीहरु खुल्ला आकाशमुनि नै पठनपाठन गर्न बाँध्य भएका छन् । केवलेश्वर आधारभुत विद्यालयका विद्यार्थीहरु भुकम्प गएपछि पढन विवश छन् ।
भुकम्पपछि चाइल्ड फनले बनाइदिएको दुई कोठे बाँसको भाटाले बारेर बनाएको सामान्य भवन पनि जिर्णे भएको छ । अस्थायी टहरा पनि जिर्ण भएपछि बाहिरै डेस्क बेन्च राखेर पठनपाठन गरिँदै आएको छ । कक्षा शिशुदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालयमा जम्मा १८ जना विद्यार्थिहरु छन ।
सबै कक्षाको विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पढाउनु पर्ने बाँध्यता रहेको विद्यालयका प्रअ कृष्ण प्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो विद्यालय अर्को विद्यालयसँग गाभिन्छ होला भनेका थियौँ तर गाभिएन, भवन बनाउनको लागि जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) रामेछापमा पनि ध्यानकर्षण गरायौँ, विभिन्न संघसंस्था सबैसँग सहयोग माग्यौ तर कतैबाट पनि सहयोग पाइएन ।’
विद्यालयमा २ जना स्थायी, एक जना राहत अनुदान गरी तीन जना शिक्षक र एक जना सहयोगी कर्मचारी गरी चार जना कार्यरत छन । विद्यालयका शिक्षक विनोद घिमिरेका अनुसार पठन पाठनमा निकै समस्या छ । साना बालबालिका जाडोमा थरथर काम्दै र गर्मीमा तातोघामको रापमा सेक्किदै अध्ययन गर्न बाँध्य छन । विहान १० बजेदखि बेलुका ४ बजेसम्म विद्यार्थीहरुलाई बाहिरै खुल्ला आकाशमुनि राखेर पढाउन निर्कै समस्या भएको शिक्षक घिमिरेले बताउनुभयो ।
एकै ठाउँमा सबै विद्यार्थीलाई राखेर पढाउँदा हो–हल्लाले विद्यार्थीलाई पढाईमा ध्यान केन्द्रित गराउन निकै समस्या भएको उहाँले बताउनुभयो । विद्यालयको भवन नहँदा आफनो छोरीलाई विद्यालय पठाउन मनै नलाग्ने बताउदै अभिभावक तिर्थ थोकरले भन्नुभयो,‘छोरीलाई विद्यालय पठाउने गरेको थिए बाहिरै राखेर पढाउँछन केही दिन विद्यालय गएपछि चिसोले छोरी बिरामी भएको भएकै गर्छिन । अब अन्यत्रै लगेर छोरीलाई पढाउने सोच बनाएको छु् ।’
स्थानीय समाजसेवी हरि कार्कीका अनुसार गाउँका धैरै बालबालिका २ घण्टा बाटो हिँडेर अन्य विद्यालयमा पढ्न जान्छन । विद्यालयमा विद्यार्थीको संख्या पनि थोरै छ, विद्यालय जाने विद्यार्थी पनि बाहिरै बसेर पढ्नुपर्छ अनि विद्यालयको पठनपाठन पनि राम्रो छैन भनेर धेरै अभिभावकहरु छोराछोरी पढाउनका लागि सदरमुकाम मन्थली र काठमाडौं जाने गरेको उहाँ बताउनुहुन्छ ।
वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले विद्यालय पुननिर्माण गर्न आफनो वडा कार्यलयले ८ लाख रुपैया रकम विनियोजन गरेको बताउदै पुननिर्माणको काम अगाडि बढिसकेको बताउनुभयो । भवन बनाउने स्थानको जग्गा सम्याउने काम भइसकेकाले अबको केही महिनामै विद्यालयको आफनै भवन निर्माण हुने उहाँले दावी गर्नुभयो ।