खाँडादेवी गाउँपालिकामा छ महिनामा ४० प्रतिशत पूँजीगत खर्चः अध्यक्ष तामाङ
रामचन्द्र बि.क.
३ माघ, रामेछाप । खाँडादेवी गाउँपालिकाभित्र छ महिनाको अवधिमा चालिस प्रतिशत पूँजीगत खर्च भएको छ । गाउँपालिकाले आगामी तीन महिनाभित्र सबै पूँजीगत खर्च भइसक्ने बताएको हो ।
खाँडादेबी गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ र चालु आर्थिक वर्षको पहिलो चौमासिकभित्र सम्पादन गरेका कामको सार्वजिन सुनुवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाईमा केही सर्वसाधारणले सिफासिर लिँदा थप पैसा लाग्ने गरेको गुनसो गरेका गरेका छन् ।
सार्वजनिक सुनुवाई गर्नुपूर्व पचास जनामा गरिएको सर्वेक्षमा ४६ प्रतिशत सर्वसाधरणले सिफासिर लिँदा तोकिएको भन्दा बढी रकम आफूहरुले तिर्नु परेको गुनासो गरेका छन् ।
आफूहरुले काम गर्नको लागि सहयोग गर्नेले नै बढी पैसा लिने गरेको बताएका छन् । त्यस्तै सार्वजनिक सुनुवाईमा सहभागी भएका स्थानीयहरुले गाउँपालिकामा सडकको सुधार, खानेपानीको समस्या समाधान कहिले हुन्छ भन्दै जनप्रतिनिधिहरुमाथि प्रश्न राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले उठाएको विभिन्न प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै काम अगाडि बढाइएको बताउदै नागरिकहरुको न्युजनम आवश्यकलाई सम्बोधन गर्ने गरी काम भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘जनताको चाहना धेरै छ, गाउँपालिकासँग भएको स्रोत र साधनको अधिकतम प्रयोग गरेर जनतालाई सुविधा दिने काममा हामी रातदिन लागेका छौं ।’ गाउँपालिका तथा वडा कार्यालयबाट सिफारिस लिदाँ सर्वसाधारणले बढी पैसा तिर्नु परेको स्थानीयको गुनासोलाई चाँडै नै अध्ययन गरेर यदि बढी पैसा तिरेको भेटिएमा पैसा लिनेको पहिचान गरी कार्वही गर्ने प्रतिबद्धता अध्यक्ष तामाङले व्यक्त गर्नुभयो ।
अध्यक्ष तामाङले यस आर्थिक बर्षको छ महिनामा करिब चालिस प्रतिशत पूँजीगत खर्च भएको बताउदै आगामी तीन महिनाभित्र गाउँपालिकाले अगाडि सारेका विकास निर्माणको योजना सम्पन्न हुने दावी गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरुले वडाका स्थानीयले राखेको प्रश्नको जबाफ दिँदै वडाको समग्र विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।