खाँडादेवी गाउँपालिकाको भटाैलीदेखि गाल्वासम्मको सडक कालोपत्रे हुँदै



१० माघ, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीबाट जिल्लाको तीन गाउँपालिकाका जोडने सडक कालोपत्रे हुने भएको छ । यस आर्थिक बर्षमा खाँडादेवी गाउँपालिकाको भटौली हुँदै गाल्वासम्म २५ किलोमिटर सडक कालोपत्र हुने भएको हो । बहुबर्षिय योजना अन्तर्गत ३ नम्बर प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्नको लागि काम अगाडि बढाएको हो । खाँडादेवी गाउँपालिकाको पहलमा गत बर्ष भटौली–गाल्वा सडकको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) गरिएको थियो । सोही डिपिआरको योजनालाई प्राथमिकता दिदै प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा यस बर्षबाट कालोपत्रको काम अगाडि बढेको हो ।


खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाको पहलमा सडक कालोपत्रे अगाडि बढेको बताए । उनले रामेछाप न्युजसँग भने,‘भटौलीदेखि गाल्वासम्मको सडक कालोपत्रे गर्न डिपिआर बनाएर, डिपिआर सहितको योजना प्रदेश सरकारमा पेश गरेका थियौ, जसलाई प्रदेश सरकारले प्राथमिकता दिएर कालोपत्रेको काम अगाडि बढाउनु खुसीको विषय हो ।’
खाँडादेवी गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउदै अध्यक्ष तामाङले गाउँपालिकाको मुख्य सडक कालोपत्रे भएपछि धेरै सहज हुने बताए ।

२५ किलोमिटर सडक अन्तर्गत माकादुमबाट गाल्वासम्म ग्राबेल गरिएको छ भने भटौलीदेखि माकादुमसम्म धुले सडक रहेको छ । धुले सडक कालोपत्रे हुने भएपछि स्थानीय खुसी भएका छन् । यस आर्थिक बर्षमा भने भटौलीदेखि गोगनपानीसम्म १० किलोमिटर सडक कालोपत्रे हुनेछ । प्रदेश ३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय पूर्वधार विकास कार्यालय रामेछापले कालोपत्रे गर्न प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्