रामेछापको सरकारी कार्यालयमा भेटिदैनन कर्मचारी, आखिर कहाँ जान्छन ?
रामचन्द्र वि.क.
माघ १८, रामेछाप । रामेछापको सरकारी कार्यालयमा कार्यरत केही कर्मचारीहरु अनुपस्थित रहेको पाइएको छ । सेवाग्राहीहरु सेवा लिन कार्यालयमा बसेपनि कर्मचारीहरु भने कार्यालय समयमा नभेटिएका हुन् ।
बिहिबार राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालय रामेछापको संयुक्त अनुगमनमा जिल्लाका २२ ओटा सरकारी कार्यालयका २३ जना कर्मचारीहरु कार्यालयमा नरहेको भेटिएको छ । यसरी अनुपस्थित हुने कार्मचारीहरुमा केही कार्यालयका प्रमुख समेत रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी अनुगमन गरिएको कार्यालयमा कर्यरत ३६ जना कर्मचारीले कार्यालय पोशक र कर्मचारी परिचय पत्र समेत नलगाएको भेटिएको प्रजिअ शर्माले बताए । कार्यालय समय भित्र सेवाग्रहीको कामलाई समेत बेवास्त गर्दै कार्यस्थलमा नभेटिएका कर्मचारीलाई स्पष्टीकरण सोध्ने र नियम अनुसार कारबाही प्रक्रिया अगाडी बढाइने बताउदै प्रजिअ शर्माले आगामी दिनमा अनुगमनलाई निरन्तरता दिने बताए ।
अनुपस्थित कर्मचारी कहाँ गएको भन्ने विषय भने स्पष्टिकरणबाट पत्ता लाग्ने बताउदै उनले कार्यालय समयअवधिभर अन्यत्र जादा पूर्व जानकारी गराएको वा नगराएको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । कार्यालयमा समयमा कर्मचारीहरु नभेटिदा घण्टौ धाएर सेवा लिन आएका सेवाग्राहीहरुले सास्ती पाउने गरेका छन् ।