खाँडादेवी गाउँपालिकामा अब एकल पुरुषलाई पनि भत्ता
रामचन्द्र वि.क.
माघ २०, रामेछाप । रामेछापको खाँडादेबी गाउँपालिका–३ भिरपानीका २५ जना एकल पुरुषलाई भत्ता वितरण गरिएको छ । वडा कार्यालयले सरकारबाट कुनै पनि शिर्षकमा भत्ता नपाएका वडामा रहेका एकल पुरुषलई नगद पाँच हजारका दरले भत्ता वितरण गरेको हो ।
विभिन्न कारणले अपाङ्गता भत्ता नपाएका ३८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई पनि प्रति व्यक्ति ६ हजारका दरले भत्ता वितरण गरिएको वडा अध्यक्ष पुष्कर कुमार कार्कीले बताए ।
त्यस्तै ७० वर्ष देखि ८० वर्ष उमेर समूहका तीन सय जना जेष्ठ नागरिकलाई लौरो र ८० वर्ष भन्दा माथी उमेर समूहका ८५ जना जेष्ठ नागरिकलाई लौरो सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी एकल पुरुष र जेष्ठ नागरिकहरुलाई गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले भत्ता र सम्मान गरेका हुन् ।
यो कार्यक्रमलाई आगमी वर्षहरुमा पनि निरन्तर रुपमा चलाउने वडा अध्यक्ष कार्कीले बताए । उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ सहितका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।