रामेछापको बिरामी बचाउने कोथबेको अस्थायी पुल बन्द गर्न निर्देशन
२५ माघ, रामेछाप ।
रामेछापको तीन गाउँपालिकाका बासिन्दालाई सुविधा हुने गरी निर्माण भएको सुनकोसीस्थित कोथवेको अस्थायी पुल बन्द गर्न निर्देशन दिएपछि स्थानीयले आपत्ती जनाएका छन् । तीन गाउँपालिकाका हजारौ जनताहरुलाई सुविधा हुने गरी केही महिना अघि सञ्चालनमा आएको अस्थायी पुल बन्द गर्ने निर्देशनपछि स्थानीयले आपत्ति जनाएका हुन् । जिल्ला प्रशासन कार्यालय रामेछापले गृह मन्त्रालयको निर्देशन भन्दै बुधवारबाट यातायात सञ्चालनमा रोक लगाएको छ ।
विगत दस बर्ष अघि निर्माण कार्य सुरु भएको खैरेनीघाटको पक्की पुल अझै निर्माण हुन सकेको छैन् । पुननिर्माण र दैनिक रुपमा राजधानी काठमाडौं आवत जावत गर्नको लागि सहज बनाउने उदेश्य सहित सुनापती र खाँडादेवी गाउँपालिकाको समेत लगानी रहेको अस्थायी पुलमा बुधवारबाट सवारी सञ्चालन रोक लगाएको हो । जसको कारण दैनिक रुपमा सो पुल हुँदै आवातजावत गर्ने सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् ।
पुल बन्द गर्ने निर्णय गरेसँगै सुनापती र खाँडादेवी गाउँपालिका नागरिकहरुलाई ३७ किलोमिटर घुमाउरो यात्रा गर्नुपर्ने बाँध्यता थपिएको छ । सुनापती गाउँपालिका–५ का स्थानीय पेम्बा तामाङले जनतालाई सुविधा दिने गरी सञ्चालमा आएको अस्थायी पुल बन्द गर्ने सरकारको निर्णय गलत भएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने,‘सरकार जनतालाई सुविधा दिन आएको हो कि दुःख दिन आएको हो, बर्षामा त दुःख छ नै हिउदको केही महिना चल्ने पुल किन बन्द गर्नुपर्ने बाँध्यता आइलाग्यो ?’
काठमाडौंसम्म रामेछापबाट सिधै यातायात सञ्चालन
खैरेनीघाटको पक्की पुल समयमा नै निर्माण नहुँदा रामेछापका तीन गाउँपालिकाका बासिन्दाले निकै ठूलो सास्ती झेल्दै आएका छन् । सित्खामा पक्की पुल निर्माण भएर सञ्चालनमा आएपछि सुनापती र दोरम्बा गाउँपालिकाका बासिन्दालाई निकै घुमाउरो पर्छ । खाँडादेवी गाउँपालिका–१ राकाथुमलाई पनि सो पुल पायक पर्दैन । मध्य पहाडी लोकमार्ग आयोजनाले वडा कार्यालयसँग अनुमति लिएर निर्माण गरेको अस्थायी कलर्भट खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले उदघाटन गरेका थिए । अस्थायी पुल सञ्चालनम आएपछि दैनिक रुपमा सो पुल हुँदै पाँचदेखि सात सय सर्वसाधारण यात्रुहरु आवत जावत गर्ने गरेका छन् । पुल निर्माण भएपछि वस व्यवसायीहरुले राजधानी काठमाडौंबाट सुनापती, दोरम्बा र खाँडादेवी गाउँपालिका विभिन्न वडाहरुमा सिधै बस सञ्चालन गर्दै आएका छन् ।
खाँडादेवी र गाउँपालिकाको लगानी
कोथबेको अस्थायी पुल निर्माण गर्न खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकाले पनि बजेट दिने प्रतिबद्धता गरेका छन् । गाउँपालिकाका बासिन्दालाई सुविधा हुने भएपछि दुई गाउँपालिकाले १५ लाख रुपैयाँ स्तरउन्नतीको लागि दिने निर्णय भएको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा बताउछन । तर बजेट भने उपलब्ध गरासकेका छैनन् । नागरिकहरुलाई सुविधा हुने भएपछि गाउँपालिकाले पनि लगानी गर्न तयार भएका हुन् ।
जनताले सुविधा पाए, केहीले आँखा लगाए
अस्थायी पुल सञ्चालनमा आएपछि हजारौ जनतामा खुसी ल्यायो । जनताले स्थानीय तहमा सरकार आएको आभाष पनि गरे । तर केही व्यक्तिहरुको निहीत स्वार्थको कारण पुल बन्द गराउन भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई सम्बोधन गर्दै मन्त्रालयमा निवेदन दर्ता भयो । सुनकोसी नदीलाई पर्यटन मन्त्रालयले एक सय गन्तव्यको सूचिमा सुचिकृत पनि गरेको छ । र्याफटिङको लागि सुनकोसी नदी समावेश भएको छ । तर अस्थायी पुल सञ्चालनमा आएपछि अहिलेसम्म सुनकोसीमा र्याफटिङ भने सञ्चालनमा आएको छैन् ।
अस्थायी पुल सञ्चालन हुनुपर्छः अध्यक्ष तामाङ
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जनताको सुविधाको लागि सञ्चालनमा ल्याइएको कोथबेको अस्थायी पुल निर्वाध रुपमा सञ्चालन हुनुपर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘नदीको धार परिवर्तन गरिएको छैन, र्याफटिङ सञ्चालनको लागि कुनै अवरोध छैन, जनताले सुविधा पाएको अस्थायी पुल किन बन्द गर्ने ?’ पुल सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने अधिकार स्थानीय सरकारलाई भएको बताउदै जनताको आवश्यकलाई केन्द्रमा राखेर सञ्चालनमा ल्याइएको पुल सञ्चालन गर्नुपर्ने बताए । अबको चार महिना मात्र पुल सञ्चालन हुने हो, नयाँ पक्की पुल निर्माण नहुँदासम्म चल्न दिदा कसैलाई पनि बाधा गर्दैन, अध्यक्ष तामाङले भने । अस्थायी पुलमा सवारी साधन सञ्चालन गर्न रोक लगाएको विषयमा सम्बन्धित निकायमा गम्भीरतापूर्वक कुरा उठाएर यातायात सुचारु गराउने विषयमा आफू लाग्ने उनले बताए । अध्यक्ष लामाले विकल्प विना नै अस्थायी पुलमा यातायात सञ्चालनमा रोक लगाउनु आपत्तिजनक भएको बताए ।
पुननिर्माणको काममा समस्या पर्छः अध्यक्ष लामा
कोथबेमा अस्थायी पुल सञ्चालनमा आएपछि सबै भन्दा बढी फाइदा सुनापती गाउँपालिकावासीलाई भएको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा बताउँछन । अध्यक्ष लामाले भने,‘पुननिर्माणको काम धमाधम भइरहेको छ, निर्माण सामाग्री सबै काठमाडौबाट आयात गर्नुपर्ने अवस्था छ, जनताको सुविधानको लागि सञ्चालनमा ल्याएको पुल बन्द गरेर काम छैन, निर्वाध रुपमा सञ्चालन गर्नुपर्छ ।’ एडिबी, राकाथुममा निर्माणधिन सवस्टेसन, सडक निर्माण लगायतको कामलाई असर गर्ने भएकाले आपसी समन्वय गरेर पुल सञ्चालनमा ल्याउनु पर्ने उनको भनाई छ ।
जनतालाई केन्द्रमा राखेर निर्णय गर्नुपर्छःप्रमुख खड्का
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने बताए । उनले पुल सञ्चालन गर्ने कि बन्द गर्ने अधिकार स्थानीय सरकारलाई दिएको बताउदै भने,‘नियम कानुन सबैले मान्नु पर्छ, संघीय सरकारबाट पत्राचार भए बमोजिम तत्कालको लागि यातायात सञ्चालनमा रोक लगाइएको हो ।’
विगतमा पनि बनेको थियो अस्थायी पुल
रामेछापका पश्चिम क्षेत्रका बासिन्दालाई राजधानी काठमाडौं आवतजावत गर्न समस्या भएको भन्दै तत्कालिन नेकपाका नेता एवं हाल सुनापती गाउँपालिका–५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङको नेतृत्वमा खैरेनीघाटमा अस्थायी पुल सञ्चालनमा ल्याइएको थियो । तर उक्त पुल बर्षाको समयको कारण दुई महिना मात्र सञ्चालमा आएको थियो । यस बर्ष पुसबाट सञ्चालनमा आएको कोथबेको अस्थायी पुलबाट अझै चार महिना रामेछापवासीले उपभोग गर्न पाउनेछन् । उक्त पुल निर्माणमा पनि तत्कालिन जिविसले लगानी गरेको थियो ।
अस्थायी पुलमा व्यापारीको स्वार्थ तर स्थानीयलाई राहत
अस्थायी पुल निर्माणमा गर्नुमा मध्य पहाडी लोकमार्गसँगै केही व्यवपारीहरुको पनि स्वार्थ जोडिएको छ । खाँडादेवी गाउँपालिकाले डेढ करोड भन्दा बढीमा बालुवा, ढुंगाको ठेक्का लगाएको छ । उक्त बालुवा ढुंगा र गिट्टी सोही पुल हुँदै राजधानी भित्र्ने गरेको छ । व्यापारीको स्वार्थसँगै अस्थायी पुल निर्माण हुँदा स्थानीयलाई भने राहत भएको छ । कोथबेमा केही समयअघिबाट बालुवा प्रशोधन उद्योग सञ्चालनमा आएको छ ।
अब बनाउनु पर्दैन अस्थायी पुल
यस बर्ष खैरेनीघाटमा निर्माणाधिन पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ । पुल निर्माणको ठेक्का पाएको कम्पनीले ६६ मिटर स्टिलट्रस जडानको काम गरिरहेको छ । आगामी बर्षबाट अब स्थायी पुल आवश्यक पर्दैन । पुल नहुँदा विगत लामो समयदेखि दुःख र सास्ती पाउदै आएका रामेछापवासीले अस्थायी पुल सञ्चालनमा आउदा निकै ठूलो उपलब्धी ठानेका छन् । तर सरकारले केही व्यक्तिहरुको उक्साहटमा पुल बन्द गर्ने निर्णयको जनस्तरमा विरोध सुरु भएको छ ।
बिरामी बचाउने अस्थायी पुल बन्द गराउन निर्देशन
रामेछापको पश्चिम क्षेत्रका बासिन्दालाई सदरमुकाम मन्थली भन्दा राजधानी काठमाडौं दुरीको हिसाबमा नजिक पर्छ । गाउँमा बिरामी हुँदा छिटो अस्पताल पुर्याउने माध्यम बनेको छ अस्थायी पुल । अस्थायी पुल सञ्चालनमा आएपछि दोरम्बा, सुनापती र खाँडादेवी गाउँपालिकाको बिरामीलाई सोही पुल हुँदै एम्बुलेन्सबाट धुलिखेल र काठमाडौंको अस्पताल लैजाने गरिएको छ । तर अकास्मत दैनिक रुपमा यातायात सञ्चालन हुँदै आएको पुलमा रोक लगाएपछि अकालमै बिरामीले मृत्यवरण गर्नुपर्ने हो कि भन्ने चिन्ता पनि स्थानीयमा थपिएको छ ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका स्थानीय हरि श्रेष्ठले भने,‘केही दिन अघि एम्बुलेन्स मार्फत अस्थायी पुलबाट समयमा नै अस्पताल पुर्याउन सक्दा हामीले आफन्त बचाउन सक्यौ, दस मिनेट मात्र ढिला भएको भएको भए हामीले आफन्त गुमाउनु पर्ने अवस्था थियो ।’ अस्थायी पुल बन्द गर्न निर्देशन दिएपछि कतै समयमा नै बिरामीलाई अस्पताल नपुर्याउदा ज्यान त जाने होइन भन्ने पिरालो थपिएको छ, उनले भने । कोथबेबाट सित्खाको पुल घुमेर पुनः नेपालथोक पुग्न ३७ किलोमटर घुमाउरो यात्रा गर्नुपर्छ । कोथबेबाट सित्खा हुँदै नेपालथोक आउदा सिधै कोथेबेबाट धुलिखेल पुग्न सकिन्छ, श्रेष्ठले भने ।
मध्य पहाडी लोकमार्ग निर्माण गर्न अस्थायी पुल
मध्य पहाडी लोकमार्गको काम रामेछापतर्फ धमाधम भइरहेको छ । दैनिक यात्रुहरुको सुविधालाई ध्यानमा राखेर मध्य पहाडी लोकमार्ग आयोजनाले खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालयबाट अनुमतीपत्र लिएर कोथबेमा अस्थायी पुल निर्माण गरेको हो । खैरनी–सित्खा खण्डको काम गर्ने क्रममा आवश्यक निर्माण सामाग्री काठमाडौंबाट लैजान र यात्रुहरुलाई सहज रुपमा आवतजावत गर्ने उदेश्य सहित मध्य पहाडी लोकमार्गले वडा कार्यालयबाट सहमति लिएको थियो । अस्थायी पुलमा यातायात बन्द गर्ने निर्णयले राष्ट्रिय गौरवको आयोजनाको काम समेत प्रभावित हुने भएको छ ।
मझुवा बगरमा पनि अस्थायी पुल
सुनकोसी नदी दोहान अत्याधिक रुपमा बढेको छ । स्थानीय सरकारले नदीको प्राकृतिक स्रोतलाई मुख्य आम्दानी बनाएका छन् । रामेछाफर्तको बालुवा ढुंगा गिटी ल्याउनको लागि केही व्यवासायीहरुले सुनकोसीको मझुवा बगरमा पनि स्थायी कलर्भट निर्माण गरेका छन् । तर नदीको बहाप नै परिवर्तन गर्ने गरी उक्त कलर्भट निर्माण नगर्न खाँडादेवी गाउँपालिकाले पत्राचार गरेपछि तिनै व्यपारीहरुले सयौ यात्रुहरु ओहोर दोहोर गर्ने कोथबेको अस्थायी कलर्भट पनि भत्काउन दबाब दिएका छन् । मझुवा बगरको अस्थायी कलर्भट नितान्त व्यापारिक प्रयोजनको लागि भए पनि कोथबेको अस्थायी कलर्भट भने सर्वसाधारण यात्रुहरुले उपभोग गर्दै आएका छन् । स्थानीय हरि श्रेष्ठ भन्छन,‘साँढेको धुजाईमा बाच्छाको मिलाई नहोस, व्यपारीको स्वार्थ के हो हामी जान्दैनौ तर, कोथबेको अस्थायी पुल सञ्चालन हुनुपर्छ ।’
सञ्चालनमा आएपछि भत्काउने तयारी
कोथबेमा अस्थायी कलर्भट निर्माण गर्ने क्रममा स्थानीय सरकारको अनुमति लिएर मात्र गरिएको दावी मध्य पहाडी लोकमार्गले गरेको छ । त्यति बेला पनि विवाद भएको थियो । जिल्ला प्रशासन कार्यालय रामेछापलाई पनि सो विषयमा जानकारी भएको थियो । निर्माणकै क्रममा रोक लगाएको भए उक्त पुल सञ्चालनमा नै आउने थिएन । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले उदघाटन गरेको विषयमा पनि सार्वजनि भएको थियो ।
मन्त्रालयमा हस्ताक्षर नभएको पत्र
संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई पर्यटन व्यवसायी रमेश योञ्जन लगायतका स्थानीय जल प्रर्यटनप्रेमी युवाहरु भनेर उल्लेख भएको निवेदन परेको छ । मन्त्रालयमा दर्ता भएको निवेदनमा हस्ताक्षर समेत गरिएको छैन् । हस्ताक्षर नै नभएको पत्रलाई आधार मानेर मन्त्रालय अस्थायी कल्र्भट भत्काउन निर्देशन सहितको पत्र पठाएपछि स्थानीयवासी तीनछक परेका छन् ।