सुनापती गाउँपालिकालाई समृद्ध बनाउने प्रतिबद्धता
रामचन्द्र वि.क.
माघ २५, रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउपालिकाले गत आर्थिक बर्ष र चालु आर्थिक वर्षको ६ महिनामा गाउँपालिकाले प्रवाह गरेका सेवा तथा खर्च विवरण सार्बजनिक गरेको छ । गत आर्थिक वर्ष देखि गाउपालिकाले संचालन गरिरहेका योजनाको यथार्थ आम्दानी र खर्च तथा चालु आर्थिक बर्षको ६ महिनाको यथार्थ योजना सहितको आय–ब्यय बिवरणको बारेमा सर्बसाधारणलाई जानकारी गराउने उद्देश्यले सार्बजनिक सुनुवाई गरिएको हो ।
६ महिनामा २१ प्रतिशत खर्च
गत आर्थिक बर्षमा बिनियोजित २१ करोेड २२ लाख ५९ हजार २ सय ४१ रुपैयाँ मध्य १८ करोड ९३ लाख २७ हजार ४९ रुपैया खर्च भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल निरौलाले जानकारी गराए । उनले चालु आर्थिक बर्षका लागि विनियोजित ३४ करोड ८५ लाख २ सय ४५ रुपैया मध्ये ६ महिनाको अबधिमा ७ करोड ४२ लाख ८६ हजार ८ सय ४६ रुपैया मात्र खर्च भएको जानकारी गराउदै छ महिनामा २१ दशमलव ३१ प्रतिशत मात्रै खर्च भएको बताए । बाँकी ७६ दशमलब ६८ प्रतिशत रकम आगामी ६ महिनाभित्र खर्च गरिने उनले दावी गरे ।
९ लाख राजस्व उठाउने लक्ष्य २ लाखमा सीमित
गत आर्थिक बर्षमा ९ लाख ५० हजार आन्तरिक राजस्व उठाउने लक्ष्य गाउँपालिकाले राखे पनि २ लाख ६५ हजार ४ सय ७ रुपैया मात्रै राजस्व उठेको छ । त्यसैगरी चालु आर्थिक वर्षमा १५ लाख आन्तरिक राजस्व संकलन गर्ने अनुमान राखिएकोमा ६ महिनाको आवधिमा २ लाख ६२ हजार ४ सय १३ रुपैया मात्र संकलन भएको आर्थिक प्रतिबेदन सर्वाजनिक भएको छ ।
वडाले गरेका कामको जबाफ वडाअध्यक्षले नै दिए
सुनापती गाउँपालिकाभित्र पाँच वटा वडाभित्र आएको प्रश्नको जवाफ ५ ओटा वडा अध्यक्षहरुले दिएका थिए । सुनापती गाउँपालिकामा वडाबाट प्रबाह भएका सेवाहरुको बारेमा सबै वडाका अध्यक्षहरुले जानकारी गराएका थिए । वडाबाट प्रबाह भएका सेवा तथा संचालनमा रहेका योजनाहरुको बारेमा नागरिकहरुले राखेका जिज्ञासाको जबाफ समेत वडाहरुले दिएका थिए ।
सुशासन कायम गर्न अनिबार्य सार्वजनिक सुनुवाईः प्रमुख खड्का
जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काले सुशासन कायम गराउन सबै स्थानीय तहहरुले सार्वजनिक सुनुवाई गर्नु पर्ने बताए । उनले रामेछापका ८ ओटै स्थानीय तहहरुले अनिबार्य रुपमा नियमित सार्वजनिक सुनुवाई गर्दा जनप्रतिनिधिमाथि जनताको विश्वास बढ्नेमा जोड दिए । पालिकाहरुले पुर्वाधार विकाससँगै उत्पादनमुखी योजनाहरुलाई पनि प्राथमिकता दिएर बजेट बिनियोजन गर्न स्थानीय तहलाई प्रमुख खड्काले आग्रह गरे ।
गलत हल्ला नफैलाउन अध्यक्ष लामाको आग्रह
गाउपालिकाका अध्यक्ष धावा लामाले शिक्षा, स्वास्थ, सडक र खानेपानी जस्ता अधारभुत आबश्यकताका लागि गाउँपालिकाले पहिलो प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताए । उनले गाउँपालिकामा कुनै पनि अनियमितता नभएको र आउँदा दिनमा समेत अनियमितता हुन नदिने प्रतिबद्धता समेत ब्यक्त गरे । गाउँपालिकाको विषयलाई लिएर सामाजिक संजाल फेसबुकमा नकारात्मक समाचार नलेख्न आग्रह गर्दै अध्यक्ष लामाले भने,‘ पालिकामा अनियमितता भएको भए हाक्काहाक्की बसहमा आउनहोस, नियम कानुन अनुसार भएको निर्णयमा अफवाह फैलाउने काममा नलाग्नुहोस ।’ अध्यक्ष लामाले गाउँपालिकालाई समृद्ध बनाउने अभियान सुरु भइसकेको बताउदै आगामी दिनमा योजनाबद्ध रुपमा विकास निर्माणको काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।