मन्थली माविका शिक्षक घिमिरे विदा लिएर राजनीतिक कार्यक्रममा व्यस्त



२२ फागुन, रामेछाप ।
रामेछापकै नमूना मन्थली माविका शिक्षक विद्यालयबाट विदा लिएर रानजीतिक कार्यक्रममा सहभागी भएको पाइएको छ । मन्थली मावि अन्तर्गत आधारभुत विद्यालयमा अध्यापन गराउने नवराज घिमिरे विद्यालयमा विदा लिएर कांग्रेसको कार्यक्रममा सहभागी भएको पाइएको हो । तीन दिन अघि विद्यालयबाट व्यक्तिगत कारण देखाउदै विदा लिएर हिडेका शिक्षक रामेछापको उमाकुण्ड गाउँपालिकामा कांग्रेसका नेताहरुसँगै दौडधुपमा भेटिएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष समेत रहेका घिमिरे विद्यालयमा विदा लिएर राजनीतिक कार्यक्रममा सहभागी भएपछि मन्थली माविमा भने घिमिरेको चर्चा सुरु भएको छ ।


मन्थली माविका प्रअ टंक प्रसाद दाहालले शिक्षक घिमिरे विद्यालयबाट विदा लिएर गएको रामेछाप न्युजलाई बताए । उनले रामेछाप न्युजसँग भने,‘विदा लिएर जानु भएको हो, कहाँ जानु भो थाहा छैन, विदा सकिएपछि विद्यालयमा आउनुहुन्छ ।’ फरक प्रसंगमा प्रअ दाहालले शैक्षिक क्षेत्रमा रहेका केही विकृति र विसगती हटाउन आवश्यक रहेका बताए ।
यस बारेमा बुझन खोज्दा शिक्षक नवराज घिमिरेले आफू उमाकुण्ड गाउँपालिकामा रहेको रामेछाप न्युजलाई जानकारी दिए । उनले भने,‘मैले विद्यालयमा तीन दिन विदा लिएर आएको छु, भोलीबाट विद्यालय जान्छु ।’ तपाई त विद्यालयमा विदा लिएर राजनीतिक कार्यक्रममा सहभागी हुनु भएको हो भन्ने रामेछाप न्युजको जिज्ञासामा शिक्षक घिमिरेले भने,‘शैक्षिक संस्थाको निमन्त्रणमा आएको हुँ, राजनीतिक कार्यक्रममा आएको होइन ।’ तर शिक्षक घिमिरे कांग्रेसको झण्डा सहितको सामुहिक तस्बीरमा देखिएका छन् ।
राजनैतिक विचार र आस्था राख्न हरेक नागरिक स्वतन्त्र भएपछि सरकारको तलब खाएर विद्यालयबाट विदा लिएर राजनीतिक कार्यक्रममा सहभागी हुनु गलत भएको मन्थली नगरपालिकाका एक जनप्रतिनिधिले बताए । उनले भने,‘राजनीति गर्ने हो भने शिक्षक पेशबाट राजिनामा दिएर लाग्ने आँट गर्नुपर्छ, विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइदैन ।’

नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाइले आफू समाजसेवी भएको दावी गर्दै पछिल्लो समयमा रामेछापका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै आएको छन्र । चौलागाईले विद्यालयलाई शैक्षिक सामाग्री वितरणको काममा राजनीतिक गरेको आरोप स्थानीय सरकारले लगाएको छ । चौलागाईको अभियानमा रामेछाप कांग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र खड्का लगायतका नेताहरुले साथ दिदै आएका छन् । नेपाली कांग्रेस रामेछापका नेता वीर बहादुर तामाङले भरत चौलागाईको सम्पत्तिको स्रोतमाथि नै सार्वजनिक कार्यक्रममा प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्