सैलुङको अवलोकन अब केबलकारबाट सरर…
२८ चैत्र, काठमाडौं ।
पर्यटकीय क्षेत्र सैलुङको विकास गर्न केबलकार निर्माण गरिने भएको छ । धार्मिक ऐतिहासिक र प्राकृतिक रुपमा धनी सैलुङको दृष्यावलोकनको लागि केबलकार निर्माण गर्ने योजना अगाडि सारिएको छ । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलको पहलमा सित्खा–खाँडादेवी–अग्लेश्वरी– दोरम्बा हुँदै सैलुङसम्म केबलकार निर्माण गर्ने योजना अगाडि बढेको छ ।
प्रदेश सरकारले सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबलकार निर्माणको लागि यस बर्ष नै सम्भाव्यता अध्ययनको काम सुरु भएको छ । मन्त्री ढुंगेलले रामेछाप जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना सहित केबलकारको योजना अगाडि बढाएका हुन् ।
सांस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटकी आर्कषणको केन्द्र सैलुङको विकास गर्न केबलकार निर्माण गर्नुपर्ने पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले बताए । उनले भने,‘ प्राकृतिक रुपमा विविधतता रहेको सैलुङको अवलोकन गर्न भ्युटावर निर्माण भएको छ, अब केबलकार पनि निर्माण गर्नुपर्छ ।’ पर्यटकहरुलाई बढी भन्दा बढी सुविधा दिने गरी भौतिक पूर्वाधार निर्माणको काममा ध्यान दिन आवश्यक भएको पोखरेलले बताए ।
रामेछाप र दोलखाको संगमस्थल दोलखामा आगामी वैशाक १३, १४ र १५ गते सैलुङ सांस्कृतिक तथा प्राकृतिक पर्यटन महोत्सव हुँदैछ । सैलुङमा केबलकार निर्माण भएमा आन्तरिक एवं बाह्य पर्यटकको घुइँचो लाग्नेछ । पछिल्लो समयमा सैलुङमा पर्यटकहरुको चहलपहल बढेको छ ।