रामेछापमा जताततै पानीको मुहान सुकेपछि खानेपानीको चरम अभाव
राजन महतारा क्षेत्री
२० असार, रामेछाप । रामेछाप जिल्लाको विभिन्न बस्तीमा पानीका मुहान सुक्दा खानेपानी अभाव हुन थालेको छ । असार महिनाको अन्तिममा आईपुग्दा समेत आकाशबाट पानी नपर्दा पानीका मुहान सुक्ने क्रम बढेको छ । कुवामा समेत पानी धमाधम सुक्न थालेपछि स्थानीयमा चिन्ता थपिएको छ ।
घर नजिकै भएको कुवा प िसुक्न थालेपछि घन्टौ धाएर पानी लिन जानु पर्ने बाँध्यता सृजना भएको छ । बढ्दो खडेरीसँगै गाउँमा रहेका पानीका मुहान सुकेको र टाढाबाट ल्याइएको सानो पाइपको पानीले गाउँलेलाई नपुगेपछि स्थानीयहरू गाउँ छोडेर बसाइँ सर्न क्रम समेत सुरु भएको छ ।
‘पानी अभावमा केटाकेटीलाई सरसफाइ गर्न र समयमा विद्यालय पठाउनसमेत समस्या हुन थालेको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरका राम बहादुर मगरले गुनासो गरे । उनले भने, ‘पानीको अभावमा दैनिक दुई गाग्री पानीको भरमा दिन गुजार्नुपरेको छ ।’
खानेपानीको अभाव झेल्दै आएका स्थानीय र गाईगोरुलाई खानेपानीदेखि लुगा धुन र नुहाउनका लागि पनि पानीको मुहान खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको मन्थली नगरपालिका वडा नम्बर ६ का स्थानीय निरोज थापा बताउछन । स्थानीयहरू पानीका लागि दिनमा मात्र होइन मध्य रातमै समेत पँधेरामा पानी खोज्न जान बाध्य छन् । सुक्खाग्रस्त यो क्षेत्रमा पानीका मुहान छैनन् ।
यता लिखु तामाकोशी गाउँपालिकामा पनि घण्टौँसम्म हिँडेर गाग्रीमा बोकेर ल्याएको पानीबाट दैनिकी चलाउनुपर्ने बाँध्यता छ । खानेपानी समस्याका कारण परिवारको एक जनाले दिनभर पानी बोक्नमै व्यस्त हुनुपर्छ । धेरै बेरसम्म लाईनमा बस्दा पनि पालो नै पाईदैन, लिखु तामाकोशि गाउँपालिका वडा नम्बर ५ की निर्मला नेपालीले भनिन ।
रामेछापका धेरै बस्तीहरुमा उज्यालो भएदेखि नै पानीको व्यवस्थापन गर्दै दिन बित्ने गरेको छ । रामेछापका धेरै गाउँका नागरिकहरु कृषिमा निर्भर छन । पानी अभावमा मकै, धान, कोदो लगायतका बालीलाई समेत असर पुगेको छ । खेती बारीमा लगाएको बाली समेत बिग्रदै गएको छ ।
यस वर्ष आकाशे पानी नपर्नाले खेतीपाती नै बिग्रदै गएपछि हामीलाई दैनिकी धान्न धौधौ भएको छ, मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीका सुकदेव कार्कीले भने, खेतीबाली लगाउन अकाशे पानीको भर पर्नुपर्ने हामीहरु यस वर्ष पानी नपर्दा गाउँमा अनिकाल लाग्ने खतरा बढेको छ ।’
रामेछाप नगरपालिका वडा नम्बर ८ वादीमा पानीको अभाव टार्न बर्खे पानी संकलन गर्न बनाइएका प्लास्ट्रिकका पोखरीमा पानी नभएर कमिला हिँड्न थालेका छन् । पानी जमाउन बनाएको खाल्डोमा झार उम्रिएको छ ।