सित्खा–गोगनपानी सडकः गुणस्तरीय काम गर्न मन्त्री ढुंगेलको निर्देशन



२४ असार, रामेछाप ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जिल्लाभित्र निर्माण भइरहेका सडक गुणस्तरीय बनाउन र समयसीमाभित्र नै सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रदेश ३ सरकार अन्तर्गत कालोपत्रे काम भइरहेको सित्खा भीरपानी, गोगनपानी हुँदै भोटनागी सडक खण्डको अनुगमन गर्दै उनले काममा ढिलासुस्ती गर्ने र बहानाबाजी गर्नेलाई छुट नदिने बताए ।

मन्त्री ढुंगेलले सडक निर्माणमा गुणस्तरीय निर्माण सामाग्री प्रयोग गर्न निर्देशन दिदै तोकिकै समयमा नै निर्माणको काम सम्पन्न गर्ने गरी काम गर्ने निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।
पहिलो चरण अन्तर्गत हाल सित्खा–भिरपानीदेखि गोगनपानीसम्मको सडक कालोपत्रे गर्नको लागि काम तीब्र गतिमा अगाडि बढेको छ । बहुबर्षिय ठेक्का अनुसार यस आर्थिक बर्ष पनि गोगनपानी–फुल्पा–धुलेवेसी हुँदै भोटनागीसम्म जोडने सडकको लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले सडक निर्माणको काम तीब्र गतिमा अगाडि बढेको रामेछाप न्युजलाई बताए । उनले सित्दादेखि–भीरपानीसम्म जोडने सडकमा हाल ग्याविङ हाल्ने, कटिङ र नाला निर्माणको काम भइरहेको बताउदै यस आर्थिक बर्षमा ३० प्रतिशत काम सम्पन्न भएको बताए ।

आगामी २०७७ असोज १२ गतेसम्म सित्खाबाट भीरपानी हुँदै गोगनपानीसम्म करिब १० किलोमिटर सडक कालोपत्रे गर्ने गरी निर्माण कम्पनीले प्रदेश ३ सरकारसँग सम्झौता गरेको छ । वडा अध्यक्ष कार्कीले सडक निर्माणको क्रममा आउने विवाद समाधानको लागि स्थानीय सरकारले समन्वय गरिरहेको बताए । मन्त्री ढुंगेलको पहलमा रामेछापमा आधा दर्जन भन्दा बढी सडक कालोपत्रे गर्ने काम अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्