४ लाख २४ हजार घरको पुनर्निर्माण,रामेछापमा ३० हजार घर बन्यो



४ लाख २४ हजार घरको पुनर्निर्माण,रामेछापमा ३० हजार घर बन्यो
२० साउन, काठमाडौं ।
२०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् ।
पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्ष्भित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताए । ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ’ उनले भने ।
प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ ।

आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् । त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन् । त्यसैगरी रामेछापमा ३० हजार ७ सय ११ घरको पुननिर्माण भएको छ । रामेछाप जिल्लामा ४१ हजार लाभग्राहीले निजी आवास पुननिर्माणको लागि सम्झौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्