नेकपाका अध्यक्ष प्रचण्ड फेरि रामेछाप आउदै



नारायण श्रेष्ठ

२५ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रामेछाप आउने भएका छन् । नेकपा जिल्ला कमिटी रामेछापले दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न रामेछाप आउन लागेका हुन् । प्रचण्डले २०६० साल साउन ३२ गते दोरम्बाको डाँडाकटेरीमा तत्कालिन शाही नेपालबाट हत्या गरिएका नेकपाका तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जना शहीदहरुको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।

नेकपा जिल्ला कमिटी रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले अध्यक्ष प्रचण्डले आगामी साउन ३२ गते दोरम्बा जाने तय भएको रामेछाप न्युजलाई जानकारी दिए । उनले भने,‘दोरम्बाको डाँडाकटेरीमा आयोजना हुन लागेको २१ जना शहीदहरुको अर्धकदको शालिक अनावरण गर्न आउन लाग्नुभएको हो ।’
गत बर्ष पनि दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा घटना भएको १५ बर्षपछि प्रचण्ड दोरम्बा आएका थिए । जनयुद्धको क्रममा दोरम्बा हत्याकाण्ड राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा चर्चा घटना भएको थियो । घटनामा संलग्न तत्कालिन शाही नेपाली सेनाका मेजर राममणि पोखरेललाई राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेको थियो ।

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा डाँडाकटेरीमा २१ जना शहीदहरुको अर्धकदको शालिक बनाउनको लागि गत बर्ष वीस लाख रुपैयाँ विनियोजन भएको थियो । दोरम्मा शहीद स्मृति प्रतिष्ठानले घटना भएको १६ बर्षपछि शहिदहरुको शालिक निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्