आमा धर्ती बुबा आकाश
आमाको बारेमा धेरै लेखिए कथा, कविता र वेदना । तर लेखिएनन् यहाँ बाबुका संघर्ष अनि ती अनुहारमा सलबलाएका पीडा र वेदना । के हामी सन्तानले पढ्न नसके कै हौ त ? सन्तानका लागि बाबुको अनुहारमा झल्किएका प्रेमका भावहरुलाई ? यस्तो हो भने यो गलत हो । सन्तानले आफूप्रति आमा बाबुले गरेको कर्तव्य र संघर्षलाई सम्मान र महसुश गर्न सक्नुपर्छ । त्यस्तो गर्न सकिएन भने हामी सन्तान भएको व्यर्थ हुनेछ ।
आमाको माया र बाबुको संघर्ष बिना हाम्रो भविष्यले कुनै बाटो निर्धारण गर्न सक्दैन । भनिन्छ–आमाको फुटेको खुट्टा र बाबुको फाटेको जुत्ता हेरेर कहिल्यै पनि हेला नगर्नु त्यो सब हाम्रो लागि संघर्ष गर्दा उहाँहरुले पाउनु भएको एउटा मिठो र तितो सत्य हो ।
बाबु भनेका घरका जग हुन् । जग बिनाको घरको कल्पना पनि गर्न सकिदैन । जसोतसो टेका लगाएर बसेपनि मनमा सधैं चिन्ता रहन्छ । भोली के होला भनेर त्यसैले बाबु भनेको बुबा नै हुन् । आफ्ना सन्तानका लागि कहिले घोडा बन्छन् त कहिले भरिया बनिदिन्छ्न् । त्यसैमा आफू खुशी भएको महसुश गर्छन् । मुखले व्यक्त गर्दैनन् भावना तर सन्तानलाई असिम माया गर्छन् बुबाले । त्यसैले बुवा आमा दुईमा कसको बढी माया लाग्छ भनेर बच्चालाई हामीले कहिल्यै नसोधौ । किनकी सन्तानको लागि दुबै उत्तिकै महत्वपूर्ण हुनुहुन्छ ।
हामीले दुइमा एक विना जीवनको कल्पना पनि गर्न सक्दैनौ । आमाले माया दिन्छिन् भने बुबाले साहारा दिन्छन् । त्यसैले सन्तान जन्माउन, हुर्काउन, पढाउन जति आमाको भूमिका हुन्छ । त्यति नै एउटा बाबुको पनि जिम्मेवारी र कर्तव्य हुन्छ । यसलाई इमानदारीका साथ बाबुले निभाएका हुन्छन् । अपवादमा कोही त्यस्ता नहोलान् । तर सबैलाई एउटै ठाँउमा राखेर हेर्दा ती बाबुहरुप्रति अन्याय हुन्छ । जसले आफ्नो सम्पूर्ण जीवन एउटा सन्तानको उन्नती, प्रगतिका लागि सुम्पेको हुन्छ । आमाले माया र संस्कार सिकाउछिन् भने बाबुले सन्तानको कर्तव्य र जिम्मेवारी बोध गराउछ्न् । एउटा जिम्मेवार श्रीमान र बाबु सधैं आफ्नो परिवार सन्तानप्रति चिन्तित हुन्छ ।
उनीहरुको भविष्यलाई लिएर आफ्नो सपनाहरू सजाएको हुन्छ । आफ्नो परिवार सुखी र खुसी राख्नका लागि बाबुले आफ्नो कयौं खुसी गुमाउनु परेको हुन्छ । कतिको चाकरी र गुलामी गर्नुपर्नेछ । यो हामी घरमा बसेर कल्पना गर्न सक्दैनौ । जर्ज हबटले भनेका छ्न्–‘एउटा बाबा महान हुन्छन् सयौ शिक्षक भन्दा’ यसको मतलब आफ्ना सन्तानको लागि एक बुबाको संघर्ष नै काफी हुन्छ भन्नू हो । अहिलेको एक्काइसौं शताब्दीका छोराछोरीलाई हुर्काउन र उनीहरुको इच्छा पूरा गर्न त झन् कहाँ सजिलो छ ? बदलिदो युगसँगै छोराछोरीका रहर इच्छा पनि बदलिन्छन् । नबदलिने त केबल आमा बाबुको माया मात्रै जो सधैं एकैनाश रहिरहन्छ ।
हाम्रो सामाजिक परिवेश र संस्कार अनुसार छोराछोरीमा अहिले पनि केही कुरामा विभेद त छ । यसलाइ सजिलै निर्मूल पार्न सकिन्न । तर एउटा बाबुले आफ्नो सन्तानलाई गर्ने मायामा भने त्यस्तो हुदैन जस्तो लाग्छ । बाबुमा मायाको अदृश्य शक्ति लुकेको हुन्छ । त्यसलाई उनले शब्दमा व्यक्त गर्न सकेका हुदैनन् । आफ्नो काम र जिम्मेवारीलाई सधैं निभाउछ्न् । यसै क्रममा श्रीमती र छोराछोरीको सुन्दर भविष्य बनाउने सपना बोकेर विदेश हाकिन्छ्न् । कयौ बाबुहरुको यो रहर नभएर उनीहरुको बाँध्यता हो । आफ्नो जिम्मेवारी जसरी पनि पूरा गर्ने अठोटका साथ परदेशिएका बाबुहरु त्यो परदेशको भूमिमा आफ्नो ज्यानको बाजी थापेर काम गर्छन् । न चैतको हुरि वतास भन्छन् न त पुष माघको चिसो यसरी काम गर्ने क्रममा कति बाकसमा आउछन् त कति आफ्नो सम्पूर्ण शक्ति बिदेशमा सकेर रोगी बनी फर्कन्छ्न् । भन्नुको मतलब आफ्नो सन्तानप्रति आमा बाबुको बराबरी भूमिका रहन्छ र दुबैले त्यो पूरा गरिरहेका हुन्छन् । त्यसैले हामीले आमालाई धर्ती भनिरहदा बाबुलाई आकाश भन्न सक्नु पर्छ जस्तो लाग्छ ।
मेरो परिवारमा त हामीले बुवासँग आफ्नो बालापनको लामो समय उहाँको न्यानो काखमा बिताउन त पाएनौ श्र सायद त्यही भएर पनि होला बुबाको साथको यति धेरै महत्व भएको । हामी माथि दैब पनि निष्ठुरी बनिदिए । तर जति पनि साथ बितायौ । ती सधैं यादगार रहे । माया र प्रेमका साथमा बिते । हामीलाई यो महसुश भएन कि बुबाले हामीलाई आमा भन्दा कम माया गर्नुहुन्छ । अझै हामीलाई लाग्यो बुबाले हामीलाई सबैभन्दा धेरै माया गर्नुहुन्छ भनेर गर्नु पनि हुन्थ्यो । हामी धेरै भन्दा धेरै समय बुबासँगै बिताउन चाहान्थ्यौ । उहाँको कार्यालयबाट आउने समय कुरेर बस्थ्यौ । उहाँले ल्याइदिनु भएको मिठाई खान र उहाँसगै बस्न किनकी माया नै त्यति धेरै गर्नुहुन्थ्यो । उहाँले हामी त बच्चा न पर्यौ । जसले माया गर्छ उसैको नजिक । कमै छोराछोरी हुन्छन् जो आमाको भन्दा बाबाको काखमा खुसी हुन्छन् । हामी त्यहीं थोरै भित्र पर्दथ्यौ । होला सायद,यसको मतलब आमाले माया नगरेर होइन ।
आमा भन्नुहुन्थ्यो–छोरी मान्छेले घरको सबै काम गर्नुपर्छ । तर बुवा यो सबको बिरोध गर्नुहुन्थ्यो । उहाँलाई त्यस्ता कुरा मन पर्दैन्थ्यो । छोरीले मात्रै घरको काम गर्नुपर्छ भन्ने हुदैन भन्नुहुन्थ्यो । बुवा भ्याएसम्म घरको काममा आमालाई सघाउने पनि गर्नुहुन्थ्यो । यो काम महिलाले गर्ने या पुरुषले भनेर कहिल्यै पनि छुट्टयाउनु भएन । उहाँको लागि काममा विभेद भएन । हामीलाई पनि घरको काम छोरीले गर्नै पर्छ भनेर भन्नु भएन । त्यसकारण पनि हामी बुवासँग नजिक हुन्थ्यौ । उहाँले काखमा राखेर काम गर्नु पर्दैन पढ भनेर जोगाउनु हुन्थ्यो ।हामी त बच्चा उसै मख्ख । त्यति मात्रै होइन, हामी स्कुलमा जादा सधैं हाम्रो कपाल कोरीबाटी गरि पठाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो–बेलुका सम्म यस्तै सफा बस्नु भनेर उहाँलाई छोरीहरुलाइ सधैं सफा राख्न मन पर्दथ्यो । राम्रो बनाउन मन पर्दथ्यो ।
तर यो सपना आधा अधुरै रह्यो । अहिले हाम्रो बुवा हामी सामु हुनुहुन्न । तर मलाई बिश्वास छ–उहाँले स्वर्गबाट हामीलाई हेरिरहनु भएको छ र उहाँको आशीर्वाद हामीलाई सधैं रहने छ । बुबाको यस्तै यस्तै मायाको कारणले नि होला मैले आमा बुबाको मायामा खासै फरक देख्दिन । हामीले फरक पनि पाएनौ । मैले किन यस्तो भनेको भन्दा सन्तानको परिकल्पना र लालनपालनमा बुवाको पनि उत्तिकै भूमिका हुन्छ । जति आमाको हुन्छ । कोही कोहीले नगर्लान बेइमानी होलान् । तर इमान्दार बुबाले आफ्नो भूमिका र जिम्मेवारीबाट कहिले पनि अलग रहन सक्दैन र रहदैनन् ।
बाबुलाई हामील्े आमाको सौभाग्य र नागरिकतामा नाम गाँस्नकै लागी मात्रै महत्वपूर्ण नठानौ ।आमाको रंगिन सिउदोसँगै उहाँको खुसी र परिवारको खम्बा हो बुबा । उहाँको सधैं सम्मान गरौं । त्यसकारण जहाँ आमाको भूमिका हुन्छ, त्यहाँ बाबुको पनि उत्तिकै जिम्मेवारी हुन्छ । उहाँको संघर्ष र त्यागलाई गौण नबनाउ । बाबु एउटा देख्न नसकिएको आकाश हो । जसलाई जीवनमा संघर्षसँगै चुनौती पनि त्यत्तिकै छ्न् । आमा बाबु भएर कर्तव्य पूरा गर्न त्यति सजिलो कुरा होइन । त्यो सब हामीलाई थाहा छ । छोराछोरीको स्कुलदेखि घर हँुदै उनीहरुका हरेक आवश्यकता पूरा गर्न एउटा बाबुलाइ के–के सम्म गर्नु पर्दैन होला सोचौ त ? त्यसमाथि अहिलेको आधुनिक युगसँगै उनीहरुको बढ्दै गएका इच्छा चाहनालाई पुरा गर्न झन् कति कठिनाई र व्यवधान हुन्छ, कुरा नगरौं ।
जबसम्म तपाईं हामी बाबु आमा बन्दैनौ तबसम्म बाबुको अनुहारको झल्किएको सन्तानप्रतिको मायालाई पढ्न सक्दैनौ । सन्तान घरपरिवारका लागि संघर्ष गर्दागर्दै बाबुका कति खुसी खोसिन्छ्न । यसको कुनै पत्तो हुदैन । बाबुको महत्व र भुमिकालाई ओझेलमा नपारौ । यदि त्यस्तो भयो भने सन्तानको लागि संघर्ष गर्दा निधारबाट बगेका पसिना हिंड्दै गर्दा फुटेका ती खाली खुट्टा, सन्तानको रहर पूरा गर्दै गर्दा गुम्सिएर मनभित्रै रहेका बाबुका आफ्ना सपना र भारी बोक्दा खुइलिएको त्यो तालुले हामी सन्तानलाई धिक्कार्ने छ ।
सन्तानको उज्वल भविष्य र प्रगतिका लागि एउटा बाबुको अनुहारमा सामाजिक, आर्थिक चुनौती झल्किएको हुन्छ । सारा दुनियाँसग लड्न सक्ने बुबा आफ्ना सन्तानसँग सधैं हारी दिन्छन् । सन्तानको खुसीका लागि ।
अन्त्यमा, आमा बुबा भनेका जिउदा भगवान हुन् । सधै सम्मान गरौ, जसरी जीवनका हरेक पाइलामा हामीलाई डोहोर्याउदै अघि बढिरहनु भयो । हामी पनि त्यसरी नै बुढेसकालका साहारा बनौ । सन्तानप्रति जुन आशा र विश्वास छ, त्यसलाई निराशा बन्न नदिऔ । जुन हातले हामीलाई डोहोर्याउनु भयो त्यही हात समाएर वृद्र्धाआश्रममा पुर्याउने काम कदापी नगरौ । सन्तानबाट ठूलो आश हुन्न आमा बाबुको मात्रै उनीहरु सुखी रहुन् उन्नति प्रगति होस् यहि चाहाना हुन्छ । सन्तानले पनि आफ्नो कर्तव्यलाई कहिल्यै पनि बोझ नसम्झौ इमान्दारीका साथमा निभाउ । यही एउटा असल सन्तानको परिचय हुनेछ ।
आमाको आशिर्वाद बुबाको प्यार
कुनै एक बिना जिन्दगी सधैं अन्धकार