प्रथम राकाथुम वडा अध्यक्ष कप भलिवल प्रतियोगीताः कसले जित्ला ५१ हजार राशीको पुरस्कार ?
२२ असोज, रामेछाप ।
खाँडादेवी गाउँपालिका–१ राकाथुममा प्रथम राकाथुम वडा अध्यक्ष कप भलिवल प्रतियोगीता हुने भएको छ । भोलीबाट सुरु हुने प्रतियोगीतामा जिल्लाका विभिन्न वडाबाट १६ टिम सहभागी हुने भएको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालय प्रायोजक रहेको खेलको आयोजक राकाथुम युवा तथा खेलकुद विकास समिति राकाथुम र स–आयोजक श्री समाज कल्याण मगर सेवा समिति राकाथुम रहेको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ भलिवल प्रतियोगीता आयोजना गरिएको खाँडादेवी गाउँपालिका–१ का वडा अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खेलकुदको विकास गर्ने उदेश्यले वडा कार्यालयले प्रतियोगीतको लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
श्री समाज कल्याण मगर सेवा समितिका सचिव जीवन राना मगरले खेलकुद क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित भलिवल प्रतियोगीता आयोजना गरिएको बताउनुभयो । जिल्लाको ६४ वटा मध्ये बुधवारसम्म १६ टिम दर्ता भएको बताउदै उहाँले खेल क्षेत्रको विकास गर्ने उदेश्यले विगतको बर्षहरुमा पनि खेलकुद प्रतियागीता कार्यक्रम गर्दै आएको स्मरण गर्नुभयो ।
रामेछाप जिल्लाभित्र रहेका वडाबाट खेलमा सहभागी हुन पाइने प्रावधान रहेको छ । समाज कल्याण मगर सेवा समितिको मेलमैदान खानीगाउँमा हुने खेल असोज २३ देखि २५ गतेसम्म सञ्चालन हुने सचिव रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार विजयी हुने प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमश, ५१ हजार, ३१ हजार र २१ हजार राशीको रहेको छ । विजयी खेलाडीहरुको लागि शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।