निर्वाचन अपडेटः नेकपा ९ स्थानमा विजयी
काठमाडौं । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा लम्जुङ, कञ्चनपुर, रोल्पा, काभ्रे, सल्यानलगायत गरी ६ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।
धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा नेकपा विजयी भएको छ । नेकपा उमेदवारले ८६८ मत प्राप्त गरेका छन् । काङ्ग्रेसका उमेदवारले ५८२, राप्रपा (संयुत्त)ले ६ मत प्राप्त गरेका छन् ।सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ ।
रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे । पशुपति शमशेर नेतृत्वको राप्रपा (संयुक्त)ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
त्यस्तै सल्यानको कुमाख गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११२४ मत खसेको मध्ये बुढाथोकीले ७९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याएका छन् ।
लम्जुङ सुन्दरबजार नगरपालिकामा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए । तिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याए ।
सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।पुनर्वास नगरपालिका–३मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर कृष्णबहादुर तामाङ निर्वाचित भए । काङ्ग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गरे ।
यसअघि रोल्पाको विद्रोही थवाङमा नेकपा नै निर्वाचित भएको थियो । विरलै मताधिकार प्रयोग गर्ने विद्रोही उपनाम पाएको थवाङमा १५४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका थिए ।