जनप्रतिनिधिको सक्रियताः भिरपानीका २ सय ३१ भुकम्प पीडितलाई राहत
४ पुस, रामेछाप ।
विनाशकारी भुकम्प गएको चार बर्षपछि खाँडादेवी गाउँपालिका–३ भिरपानीका २ सय ३१ जना भुकम्प पीडितहरुले न्याय पाएका छन् । जनप्रनिधिहरुको निरन्तर पहलपछि लाभग्राहीमा छुटेका भकुम्प पीडितहरुले घर निर्माणको लागि तीन लाख अनुदान पाउने भएका हुन् । भुकम्पपछि नीजि आवास निर्माणको लागि भएको सर्वेक्षणको क्रममा छुटेको भन्दै वडाका ३ सय ९ जना भुकम्प पीडितहरुले वडा कार्यालयमा निवेदन दिएका थिए ।
वडा अध्यक्ष पुष्पकर कुमार कार्की, वडा सदस्य भिम श्रेष्ठ सहितको जनप्रतिनिहरुको पटक–पटकको पहलपछि अन्ततः राष्ट्रिय पुननिर्माण प्राधिकरणले भिरपानीका २ सय ३१ जना भुकम्प पीडितलाई लाभग्राहीमा सूचिकृत गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको अनुसार यही पुस मसान्तभित्र पहिलो किस्ता लिएर डिपिसीको काम सम्पन्न गर्नुपर्ने छ । खाँडदेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले निकै लामो दौडधुपपछि छुटेका भुकम्प पीडितहरुलाई लाभग्राहीको सूचिमा समावेश गर्न सफल भएको रामेछाप न्युजलाई बताउनुभयो ।
वडाबाट ३ सय ९ जना भुकम्प पीडितहरुले लाभग्राहीको सूचिमा पर्नु पर्ने भन्दै निवदेन दिएका थिए । दोस्रो पटक भएको सर्वेक्षणबाट अधिकाश भुकम्प पीडितहको नाम लाभग्राहीमा सुचिकृत भएपनि अझै ७८ जना भुकम्प पीडितहरुको बारेमा निर्णय हुन नसकेको वडा सदस्य भिम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘धेरै पटक जिल्ला अनुदान कार्यालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा धायौ, ढिलै भएपनि जनताको गुनासो सम्बोधन भएको छ, पुस मसान्तमा डिपिसी गर्न कठिनाई हुने भएकाले पुनः केही समय म्याद थप गर्नको लागि पुननिर्माण प्राधिकरणमा आग्रह गर्न जादैछौं ।’
वडा कार्यालयले २०७२ साल बैशाख १२ गतेको भुकम्प तथा तत्पश्चातको परकम्पहरुबाट घर क्षति भइ सर्भेक्षण गरिएका र मर्मतको सुचिमा पर्न सफल भएका लाभग्राहीलाई समयमा नै अनुदान सम्झौताको लागि आग्रह गरेको छ । वडा सदस्य श्रेष्ठले लाभग्राहीले यथाशीघ्र वडा कार्यलयको इन्जिनियरलाई सम्पर्क गर्न र प्राधिकरणमा तोकिएको ढाँचामा निवेदन पेश गर्न आग्रह गर्नुभयो ।
यस अघि वडाका ५ सय ६३ जना भुकम्प पीडित लाभग्राहीको सूचिमा परेका थिर्ए । वडा कार्यालयका अनुसार लाभग्राहीमा परेका मध्ये ५ सय ४० जनाले निजी अवाास पुननिर्माणको काम सम्पन्न गरिसकेका छन् ।