चैत्रभित्र सबै योजना सम्पन्न गर्ने खाँडादेवी गाउँपालिकाको घोषणा



२८ पुस, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले आगामी चैत्रभित्र नै यस आर्थिक बर्षमा सञ्चालित योजना सम्पन्न गर्ने घोषणा गरेको छ । गाउँपालिकाले अगाडि सारेको लक्ष्य हासिल गर्न चैत्रभित्र नै सबै योजना सम्पन्न गर्ने निर्णय गरेको हो ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले यस आर्थिक बर्षको लागि गाउँ कार्यपालिकाबाट पारित भएका १ सय तीन वटा योजना समयमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘हामी समृद्ध गाउँपालिकाका निर्माणको अभियानमा जुटेका छौ, वडाअध्यक्ष र सदस्यहरुले योजना समयमा नै सम्पन्न गराउनको लागि प्रभावकारी रुपमा भूमिका खेल्न जरुरी छ ।’ अध्यक्ष तामाङले योजनाको नियमित अनुगमन भइरहेको बताउदै गुणस्तरीय काम नभए योजना पास नहुने चेतावनी दिनुभयो ।

खाँडादेवी गाउँपालिकाको छैठौँ गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष तामाङले गाउँपालिकाले अगाडि सारेको नीति र कार्यक्रम अनुसार नै आफूहरु अगाडि बढेको बताउनुभयो । गाउँ सभाले विभिन्न ७ वटा ऐनहरु पास गरेको छ । सुशासन विधेयक, आर्थिक व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक नीजि साझेदारी विधेयकप, औद्यौगिक व्यवासायी विधेयक, न्यायिक समितिको कारबाही गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा बनेको विधेयक, स्थानीय तहमा प्राकृतिक स्रोत संरक्षण सम्बन्धि विधेयक, गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन सर्वसम्मतिले अनुमोदन गरेको छ ।

त्यसैगरी सभाले समपुरक र विशेष कोषको बजेट समेत अनुमोदन गरेको छ । सभाले पालिकाको बजेट रकमान्तरण गर्ने प्रस्तावलाई समेत अनुमोदन गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्