सांसद श्रेष्ठको पहलमा मिल्यो लिखु तामाकोसी गाउँपालिकाको विवाद



२ चैत्र, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद एवं नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठको पहलमा लिखु तामाकोसी गाउँपालिकाभित्र रहेको विवाद समाधान भएको छ । गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले विद्युतीकरणमा अनियमितता गरेको विषयलाई लिएर सुरु भएको विवाद बजेट पारित नहुने अवस्थासम्म पुगेको थियो ।
नेकपा रामेछापले पार्टीको गतिविधि विरुद्ध काम गरेको भन्दै गाउँपालिकाका अध्यक्ष समेत रहेका जिल्ला कमिटीका सदस्य गोविन्द खड्कालाई कारवाही गरेको थियो । लामो समयसम्म पनि विवाद समाधान नभएपछि नेकपा बागमती प्रदेश कार्यालयको बैठकले विवाद समाधान गर्न सांसद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा नेकपा रामेछापका सचिव एवं बागमती प्रदेशका सांसद शान्ति पौडेल र नेकपा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष सदस्य रहनुभएको थियो ।

श्रेष्ठले लिखु तामाकोसी गाउँकमिटीका पदाधिकारी, जनप्रतिनिधिहरुसँगको छलफलपछि विवादको कारण पारित हुन नसकेको गाउँपालिकाको बजेट पारित गराउन सफल हुनुभएको छ । दस महिना अघि ल्याउनु पर्ने बजेट गाउँपालिकाले आर्थिक बर्ष २०७६।०७७को बजेट दुई महिना बाँकी रहदा पारित भएको छ ।
विवाद उत्कर्षमा पुगेका बेला गत साउन २४ गते प्रहरीले गोली चलाएर लोप्साङ भनिने मिलन तामाङ (बाबुराम) र अमृत तामाङलाई पक्राउ गरेको थियो । सो घटनापछि लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको थियो । लगत्तै खड्काले वडाअध्यक्ष सुवास बोहोरा र गाउँपालिकाको उपाध्यक्ष दीपशिखा दाहालको योजनामा तामाङलाई परिचालन गरेको भन्दै जिल्ला अदालत काठमार्डौमा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरी दिएसँगै अध्यक्ष खड्कालाई पार्टीले निलम्बन गरेको थियो । खड्काले किटानी जाहेरी दिएका उपाध्यक्ष दाहाल, वडाअध्यक्ष बोहोरा ढरौटीमा रिहा भएका छन् ।
सांसद श्रेष्ठले सबै पक्षसँग परामर्शपछि विवाद समाधान गर्न सफल भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘गाउँ परिषद्को बैठकले यस आर्थिक बर्षको बजेट ५४ करोड रुपैयाँ पारित गरेको छ, अब कार्यपालिकाभित्र विवाद छैन, गाउँपालिकाभित्र विकास निर्माणको काम अगाडि बढछ ।’

प्रतिक्रिया दिनुहोस्