काठमाडौंबाट रातीराती रामेछापमा गाडी प्रवेश
१५ चैत्र, रामेछाप ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसको सम्भावित संक्रमण नेपालमा फैलिन नदिन सरकारले एक साताको लागि लकडाउनको घोषणा गरेको छ । तर रामेछापमा भने रातको समयमा यात्रुवहाक सवारी साधन भित्र्न थालेपछि रामेछापवासी चिन्तित बनेका छन् । नेपालमा कोरोनाको संक्रमण देखिएका पाँच जना विदेशबाट आएका पाइएको छ । लकडाउनको समयमा पनि रातीराती यात्रु सहितको सवारी प्रवेश हुने क्रम रोकिएको छैन् । रामेछापको मुख्य नाका खैरेनीघाट, सित्खा र सेलेघाटबाट रातीको समयमा यात्रु सहितको सवारी साधन प्रवेश गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मजदुरहरुको दैनिक जनजीवन कष्टकर बन्न नदिनको लागि गन्तव्यसम्म जानको लागि सहज बनाउने निर्णय गरेको थियो । रामेछापको सुनापती, खाँडादेवी लगायतका गाउँपालिकाका इट्टा भट्टामा काम गर्ने मजदुरहरुले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सवारी साधनको पास लिएर रामेछाप प्रवेश गर्ने गरेका छन् ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले रातीको समयमा दैनिक पाँच वटा भन्दा बढी सवारी साधन गाउँपालिकाभित्र प्रवेश गरेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘लकडाउन हुँदा काठमाडौंमा भोकभोकै पर्ने अवस्था सृजना भएका मजदुरहरु गाउँ आउनुभएको छ, काठमाडौंबाट आउने सबैको तथ्याङ्गक राखेका छौं ।’ उहाँका अनुसार रातको समयमा गाउँपालिका प्रवेश गरेकाहरु विदेशबाट आएका व्यक्तिहरु छैनन् । उपत्यका काठमाडौंमा ज्याला मजदुरी गरेर जीविका धान्न नै कठिन भएपछि गाडी रिर्जभ गरेर रामेछापवासीहरु जिल्ला फर्कने क्रम सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट अनुमित लिएर आएका सवारी साधनलाई मात्र जिल्ला प्रवेश गर्न दिएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘रामेछापवासी बाहेक अपरिचित व्यक्तिलाई जिल्लाभित्र प्रवेश गर्न दिएका छैनौ, जिल्ला प्रवेश गरेका सबैको अभिलेख राखेर स्थानीय तहलाई दिएका छौं ।’ काठमाडौंबाट बिपी राजमार्ग हुँदै रामेछाप जिल्लाभित्र सवारी साधन प्रवेश गर्ने गरेका छन् । तर डिएसपी पाठकले सीमा नाकामा २४ सै घण्टा प्रहरीले चेकजाँच गरिरहेको बताउनुभयो ।