स्थानीय तहलाई आर्थिक सहयोग गर्ने बागमती प्रदेश सरकारको निर्णय



१६ चैत्र, हेटौडा ।
बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले स्थानीय सरकारलाई कोरोना रोकथाम र नियन्त्रणको लागि बजेट उपलब्ध गराउने निर्णय भएको रामेछाप न्युजलाई बताउनुभयो । ‘गाउँपालकालाई १०, नगरपालिकालाई १२ लाख, उपमहानगरपालिकालाई १५ र महानगरपालिकालाई २० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ’उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘आर्थिक सहयोग मात्र होइन प्रदेश सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि पठाउछ ।’

उहाँका अनुसार आज बसेको बैठकले कोराना भाइरस रोकथाम तथा नियन्त्रण कार्यविधि अनुमोदन गरेको छ । बैठकले स्थानीय सरकारलाई सम्पूर्ण शक्ति कोरोना भाइरस रोकथाम र नियन्त्रणमा परिचालन गर्न आग्रह गर्ने निर्णय गरेको बताउदै मन्त्री ढुंगेलले आवश्यक स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभयो ।
बागमती प्रदेशमा १३ जिल्ला अन्तर्गत ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्