रामेछापमा ७६ जना क्वारेन्टाइनमा कुन स्थानीय तहमा कति ?



२० चैत्र, रामेछाप ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण रामेछाप जिल्लाभित्र भित्रिन नदिन विदेशबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने काम धमाधम भइरहेको छ । विदेशबाट आएका व्यक्तिहरुको पहिचान गरी स्थानीय तहले तयार गरेको क्वारेन्टाइन र होम क्वारेन्टान रोजाएर ती व्यक्तिहरुलाई क्वारेन्टानमा राखिएको हो ।

आजसम्म रामेछाप जिल्लाभित्र ७६ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जितेन्द्र कुमार कर्णले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार सुनापती गाउँपालिकामा १३, खाँडादेवी गाउँपालिकामा ११, दोरम्बा गाउँपालिकामा ४ जना, मन्थली नगरपालिकामा १० जना, गोकुलगंगा गाउँपालिकामा ७ जना, रामेछाप नगरपालिकामा २६ जना , लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अधिकांश व्यक्तिहरु होम क्वारेन्टाइनमा बसेका छन् । कर्णका अनुसार ७६ जना मध्ये ६८ जना होम क्वारेन्टाइनमा बसेका छन् । होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने र सुरक्षाकर्मीले निगरानी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्