अब उमाकुण्ड गाउँपालिकाभित्र प्रवेश गर्नेले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्छः अध्यक्ष सुनुवार



२६ चैत्र, रामेछाप ।
उमाकुण्ड गाउँपालिकाले अब गाउँपालिकाभित्र प्रवेश गर्ने हरेक व्यक्तिले १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने निर्णय गरेको छ । गाउँपालिकाले चार वटा सीमा नाकामा हेल्थ डेक्स राख्ने निर्णय गर्दै गाउँपालिकाभित्र प्रवेश गर्ने नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले सम्भाविन कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि अब गाउँपालिकाभित्र प्रवेश गर्ने व्यक्तिहरुलाई गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिने रामेछाप न्युजलाई बताउनुभयो ।
गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण राहत तथा उपचार कोषमा दस लाखको कोष स्थापना गर्दै उक्त कोषमा सहयोगको लागी उद्योगी व्यापारी व्यवसायी विभिन्न संघसंस्थाहरूलाई अपिल पनि गरेको छ ।
अध्यक्ष सुनुवारले मार्ग दर्शन सीमाभित्र रहेर गाउँपालिकाभित्रका असहाय र विपन्नको छनोट गरि राहत वितरण गर्न तथ्याङक संकलनको काम अगाडि बढाइएको बताउनुभयो ।
लकडाउनलाई प्रभावकारी बनाउनको लागि बाम्तिको देउराली प्रितीको सिंगटी ,गुप्तेश्वरको कालोचौतारा र भुजीको विमिरेमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको बताउदै अध्यक्ष सुनुवारले आवश्यक औषधी र स्वास्थ्य सामाग्री वितरण गर्ने काम अगाडि बढाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्