उमाकुण्ड गाउँपालिकाद्धारा लकडाउनमा अलपत्र परेका १५ सय नागरिकहरुको निशुल्क उद्धार



१२ वैशाक, रामेछाप ।
लकडाउनको कारण काठमाडौं उपत्यकामा अलपत्र परेका १५ सय नागरिकहरुलाई उमाकुण्ड गाउँपालिकाले निशुल्क रुपमा उद्धार गरेको छ । लकडाउनको समय लम्बिदै जादा ज्याला मजदुरी गरेर जीविका चलाउदै आएका आफ्ना नागरिकहरु काठमाडौमा अलपत्र परेपछि गाउँपालिकाले निशुल्क रुपमा बसको व्यवस्था गरेर उद्धार गरेको हो ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले अलपत्र परेका नागरिकहरुको उद्धार गर्ने काम पहिलो चरणमा सम्पन्न भएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सरकार चाहिने भनेकै नागरिकहरुलाई दुःख सुख पर्दा हो, हामीले हाम्रो उद्धार गरेर दायित्व निर्वाह गरेका छौ, अलपत्र परेका जनता खुसी भएका छन् ।’

काठमाडौबाट गाउँ ल्याएका नागरिकहरुलाई सुरक्षित ढंगेल ल्याएको बताउदै अध्यक्ष सुनुवारले अब काठमाडौबाट गाउँ आएका व्यक्तिहरु गाउँपालिकाको निर्देशन अनुसार बस्नु पर्ने बताउनुभयो । अलपत्र नागरिकहरुको उद्धार गर्न गाउँपालिकाका अध्यक्ष सुनुवार स्वयंम काठमाडौ जानुभएको थियो ।अध्यक्ष सुनुवारले अझै पनि काठमाडौमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्ने कामलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

यस्तो छ गाउँपालिकाको ४ निर्देशनः
१.उमाकुण्ड गाउँपालिकाको वडा नं ७ को विमिरे, वडा नं ६ को कालोचौतारा, वडा नं ४ को सिंगटी र वडा नं २ को देउरालीमा स्थापना गरेको हेल्थ डेस्कमा अनिवार्य स्वास्थ्य परिक्षण गराउनु पर्नेछ ।
२.कम्तिमा १४ दिनसम्म होम क्वारेन्टाइनमा सुरक्षित साथ बस्नु पर्नेछ ।
३.घर परिवार र छरछिमेकीको सम्पर्कमा जान पाइने छैन् ।
४.कुनैपनि स्वास्थ्य समस्या देखापरेमा हेल्थ डेस्क, स्वास्थ्य संस्थाहरू र गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्