बढ्दो महिला हिंसाः दोषी को ?



उर्मिला दाहाल

भनिन्छ– महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् । एक विना अर्को चल्दैनन् । तर पनि महिला र पुरुषमा ठूलो विभेद छ । धर्मलाई आधार बनाएर महिलामाथि विभेद गरिन्छ यहाँ । दाइजो नल्याएको कारण महिलाले यातना सहनुपरेको छ भने बोक्सीको आरोपमा घरनिकाला हुनुपरेको छ । अमानविय व्यवहारको सामाना गर्नु परेको छ । तुलनात्मक रुपमा गरिब तथा मजदुर महिलामाथि यस्तो हिंसा बढी हुने गरेको भएपनि अन्य महिलाहरु पनि यसबाट अछुतो छैनन् । हुन त महिलाविरुद्धको हिंसा संसारभर नै छ । परिवार, समाज र राज्य जुनसुकै क्षेत्रमा महिला हिंसा हुने गरेको छ । नेपालमा पनि हिमाल, पहाड, तराइ सबै क्षेत्रमा महिलाहरु हिंसाबाट आक्रान्त बनेका छन् ।
महिला भएकै कारणले जन्मपूर्वदेखि मृत्यु नहुञ्जेलसम्म गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना, दुर्व्यवहार नै महिला हिंसा हो । के घर, के कार्यालय, जहाँपनि महिलामाथि कुनै न कुनै रुपमा हिंसा भैरहेको छ । जतिसुकै नियम कानुनको निर्माण भै समाज विकासको रथमा अगाडि बढे पनि महिलामाथि हुने हिंसा र अपराधहरु अन्त्य हुन सकेको छैनन् । हाम्रो देशमा मात्र होइन विश्वभरनै महिलाविरुद्ध विविध हिंसा हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन् ।

एक सामाजिक रोगका रुपमा व्याप्त रहेको यसबाट कुनै समाज, वर्ग, जाति,धर्म वा देश अछुतो रहन सकेको छैनन् । यसो हुनुमा अशिक्षा, पितृसत्तात्मक सामाजिक संरचना, पुरातनवादी साघुँरो सोच, धर्मशास्त्रको प्रभाव र महिलालाई शारीरिक एवं भावनात्मक रुपमा पुरुष भन्दा कमजोर मानिने मानसिकता नै प्रमुख दोषी रहेका छन् ।
विश्वका एक तिहाइ महिला जीवनमा कुनै न कुनै रुपमा हिंसाबाट पीडित भएका विभिन्न तथ्यांकले देखाएका छन् । हुनपनि महिलाहरु बालविवाह, बहुविवाह, देहव्यापार, गरिबी, बेरोजगारी, चेलीबेटी बेचबिखन, यौन शोषण लगायतका हिंसाले ग्रसित छन् । यसका साथै सामाजिक, आर्थिक, शैक्षिक एवं सांस्कृतिक सबै क्षेत्रमा महिलाहरु पछाडि परेका कारण महिला वर्गमाथि हुने अन्याय र अन्याचारको क्रम रोक्न सकिएको छैन । महिलाहरु सामाजिक र आर्थिक रुपमा सशक्त नहुँदासम्म हिंसा अन्त्य हुन नसक्ने भएकोले सर्वप्रथम महिला आफै सचेत हुन शिक्षित हुनु जरुरी छ ।
हिंसा भनेको कुट्नु, पिट्नु, ज्यान मार्नु मात्र होइन कसैको भावनामाथि चोट पुर्याउँनु पनि हिंसा हो । पितृसत्तात्मक सोचका कारण पनि महिला हिंसा बढेको देखिन्छ । अझै कोरोना भाइरसको कारण भएको लकडाउनको कारण घरेलु हिंसामा बृद्धि भएको विभिन्न तथ्यांकहरुले देखाएका छन् । लकडाउनको कारण विश्वभर जघन्य अपराध घटेपनि सामाजिक अपराध बढेको देखिन्छ । त्यसैले महिला हिंसा न्यूनिकरण गर्न सरकार संवेदनशील हुनुपर्दछ । समाजमा मदिरा र लागुपदार्थ सेवनका कारण अधिकांश घरेलु हिसाका घटनाहरु बढेकोले यस्ता पदार्थहरु विक्री वितरणमा सरकारी निकायबाट नै प्रतिबन्ध गरिनु आवश्यक छ ।

संविधानमा महिला हिंसालाई दण्डनीय अपराधका रुपमा परिभाषित गरेपनि महिला हिंसा अझैपनि निराकरण हुन सकेको छैन । महिला हिंसा न्यूनिकरण र नियन्त्रणका लागि नेपालको संविधान २०७२ को प्रस्तावना तथा धारा ३८ मा महिलाको हक प्रदान गरिएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १६८ ले अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु नहुने भन्ने उल्लेख गरेको छ । सामाजिक व्यवहार ९सुधार० ऐन २०३३ को दफा ५ मा विवाहमा दाइजो लिन नपाइने कुरा उल्लेखित छ । घरलु हिंसा ९कसुर र सजाय० ऐन २०६६ को प्रस्तावनामा नै हिंसाजन्य कार्यलाई दण्डनीय बनाएको छ । अहिले संघ, प्रदेश, स्थानीय तीनै तहका सरकारले महिला हिंसा अन्त्यको लागि विविध कार्यक्रमहरु सञ्चालन गरेका छन् । तरपनि महिला हिंसा सोचेजस्तो कम हुन सकेको छैन ।

गरिबी, अशिक्षा र पछौटेपनका कारण पनि महिलामाथि हुने हिंसामा बृद्धि भएकाले सर्वप्रथम महिलाहरुलाई शिक्षित बनाई रोजगारी तथा आयआर्जनमा आत्मनिर्भर बनाउन जरुरी छ । आजपनि परम्परागत सोच, कतिपय धार्मिक परम्परा र संस्कार, बालविवाह, लैङ्गिक विभेद आदि कारणले महिला माथि उठ्न सकेका छैनन् । उनीहरु वर्गीय, जातीय, लैङ्गिक तथा सामाजिक विभेदको सिकार भएका छन् । त्यसैले समाजले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्