रामेछापमा ६ जनामा आरडिटी रिपोर्ट पोजेटिभः रिपोर्टको प्रतिक्षा
१० जेठ, रामेछाप ।
रामेछाप जिल्लामा आरडिटी विविबाट गरिएको कोरोना भाइरस परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मन्थली नगरपालिकामा ५ र सुनापती गाउँपालिकाका १ जनामा गरी ६ जनामा आरडिटी पोजेटिभ देखिएको हो । आरडिटी पोजेटिभ आएका पाँचै जनाको स्वाब संकलन गरेर परीक्षणको लागि काठमाडौं पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
मन्थलीका पाँच जनालाई अस्पतालमा भर्ना गरेर राखिएको छ भने सुनापती गाउँपालिका–१ गुन्सीमा आरडिटी पोजेटिभ देखिएका व्यक्तिलाई गाउँपालिको होम क्वारेन्टाइनमै राखेको छ ।
कर्णका अनुसार रामेछाप जिल्लाको आठ वटा स्थायनीय तहमा गरी आजसम्म ३५ जनाको पिसिआर र ५ सय ३ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । रामेछाप जिल्लाका दुई जनालाई कोरोना भाइरस भएको पुष्टि भएको छ ।
आरडिटी पोजेटिभ आएका चारै जनाको जिल्ला अस्पताल रामछापमा आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको छ । अस्पतालका डा. आनन्द आचार्यले चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको रामेछाप न्युजलाई जानकारी दिनुभयो । पाँच जनाको रिपोर्टको प्रतिपक्षामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्णले बताउनुभयो ।
रामेछाप घर भएर भक्तपुर बस्दै आएका शसस्त्र प्रहरी बलमा कार्यरत सिपाही र खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय एक पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । हाल दुवै जनाको आइसालेसनमा राखेर उपचार भइरहेको छ ।