दुई जनाको पास लिएर १२ जना यात्रु बोक्ने माइक्रो चालक रामेछापमा पक्राउ



१३ जेठ, रामेछाप ।
लकडाउनको कडाई गर्न सरकारले गृहमन्त्रालयको स्वीकृत कोर्ड लिएर मात्र जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सवारी साधनको लागि मात्र सवारी पास दिने गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट दुई जनाको पास लिएर १२ जना यात्रु बोक्ने माइक्रो चालक रामेछापमा पक्राउ परेका छन् ।
काठमाडौका सहायक प्रमुख जिल्ला अधिकार तुलसीराम पौडेलले हस्ताक्षर गरेको सवारी पासमा दुई जनाको मात्र भनेर उल्लेख गरिएको छ । तर बा १ ज ६१७१ नम्बरको माइक्रो चालक राजन खत्रीले २ जना उल्लेख भएको ठाउँमा १२ जना यात्रु राखेर रामेछापको लिखु तामाकोसी लिएर आएका थिए ।


रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चालकले २ जना उल्लेख गरेको पासमा १२ जना यात्रु लिएर आएपछि माइक्रो र चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले यात्रुहरुलाई लिखु तामाकोसी गाउँपालिकामा पुर्याएर क्वारेन्टाइनमा राखिएको र चालकलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

एकतर्फी पास लिएर खत्रीले पासमा आफैले अंक थपरे यात्रु बोकेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । चालक खत्रीले हिजो पास लिएर रामेछाप प्रवेश गर्ने क्रममा पास किर्ते गरेको पत्ता लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । यसरी सवारी साधन पक्राउ गरेको रामेछापमा पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्