घर आगनमै प्रत्यक्ष स्वरोजगार उपलब्ध गराउने बजेट आएको छः मन्त्री ढुंगेल
२ असार, हेटौडा ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आर्थिक बर्र्षको बजेटले घरआगनमै प्रत्यक्ष स्वरोजगार बनाउने गरी ल्याइएको बताउनुभएको छ । उहाँले बजेटले वर्तमान कोरोना सङ्क्रमणको चुनौतीलाई सामना गर्न तथा कृषि उत्पादन र वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई स्थानीय घरआगनमै प्रत्यक्ष स्वरोजगार उपलब्ध गराउने र विकासको पूर्वाधारलाई आर्थिक क्षेत्रमा आत्मनिर्भर तुल्याउने योजनालाई बढी प्राथमिकता दिइएको बताउनुभएको हो ।
बाग्मती प्रदेशसभाको मंगलवार बसेको बैठकमा आव २०७७÷७८ का लागि वार्षिक राजश्व र व्ययमाथि छलफल शुरु भएको छ । मन्त्री ढुंगेलले सरकारको तर्फबाट प्रस्तुत गर्नुभएको बजेट छलफलका लागि बैठकमा प्रस्ताव टेबुल गर्नुभएको थियो ।
मन्त्री ढुंगेलले प्रस्तुत बजेटमा गत आवको तुलनामा यस वर्ष बजेटको आकार वृद्धि भएको भए पनि प्रस्तावित राजश्वको असुली गर्न सन्तुलित एवं पारदर्शी ढङ्गबाट सर्वसाधारण नागरिक र उद्योगपति व्यापारीहरुलाई मर्का नपर्ने गरी राजश्व असुलीको लक्ष्यमा कार्यान्वयन गर्नेतर्फ सरकारको जोड रहेको बताउनुभयो ।