विद्युत प्राधिकरणमा फेरि कुलमान घिसिङलाई नै निरन्तरता दिन्छौः मन्त्री पुन
१३ भदौ, काठमाडौं ।
उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री बर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने बताउनुभएको छ । उहाँले सरकारको नीति तथा कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेर प्राधिकरणलाई नाफामा लैजान सफल हुनुभएका घिसिङलाई नै प्राधिकरणमा निरन्तरता दिने बताउनुभएको हो ।
घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्न राजनीतिक नेतृत्वसँग मिलेर विद्युतको कुशल व्यवस्थापन गर्दै आउनुभएको छ । मन्त्री पुनले भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उहाँलाई दोश्रो कार्यकालका लागि नियुक्ती गर्नका लागि प्रस्ताव लैजाने बताउनुभयो । उर्जा मन्त्रालयले तयार पारेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि घिसिङ दोस्रो कार्यकालका लागि नियुक्त हुनुहुनेछ ।
घिसिङलाई पुनः दोहोर्याउने विषयमा मन्त्री पुनले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरिसक्नुभएको छ । आम नागरिकहरुले घिसिङलाई नै प्राधिकरणमा निरन्तरता दिनुपर्ने माग गर्दै आएका छन् ।
केही दिनयता सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा कार्यकारी निर्देशक घिसिङलाई दोहोर्याउनु पर्ने आवाज निकै उठिरहेको छ । कार्यकारी निर्देशक घिसिङलाई ४ वर्ष अघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति गर्नुभएको थियो ।