सुनापती गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैंकबाट दिने निर्णय
१५ भदौ, रामेछाप । सुनापती गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको काम यस आर्थिक बर्षदेखि बैकिङ प्रणालीबाट गर्ने निर्णय गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउने उदेश्य सहित गाउँपालिकाले पहिलो पटक बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा वितरण गर्ने भएको हो ।
सुनापती गाउँपालिकाका र सिटिजन्स् बैंकबीच सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धावा लामा, उपाध्यक्ष गिता विष्ट, प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले र सिटिजन्स बैंक सुनापती शाखाका प्रमुख लगायतको सहभागीता रहेको थियो ।
सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले बैकिङ प्रणालीबाट यस बर्षबाट सामाजिक सुरक्षा भत्ता वितरणको काम अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका पाँच वटा वडामा गरी यस आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको लागि सात करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सुनापती गाउँपालिकाका सूचना प्रविधि अधिकृत सन्तोष चौलागाईका अनुसार सुनापती गाउँपालिकाको पाँच वटा वडामा २४ सय ४० जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । सामाजिक सुरक्षा भत्ता वितरणको काम बैकिङ प्रणाालीबाट भुक्तानी हुने भएपछि वडा अध्यक्ष र वडा सचिवलाई कामको बोझ घटेको छ ।